महिलालाई समान हक खोज्न होइन, परिवार चलाउने संस्कार सिकाउनुपर्छ: सांसद कँडेल

काठमाडौँ – पूर्व गृहराज्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले महिलालाई पुरुष सरह हक अधिकार खोज्न सिकाउन नहुने जिकिर गरेका छन्।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद कँडेलले समाज भाँडिने भएकाले महिलाई घरभित्रै सीमित गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका हुन्।

समितिमा नागकिरता संशोधन विधेयकमा वैवाहिक अंगीकृत नागरिताको बारेमा छलफल भइरहेका बेला कँडेलले महिलालाई अधिकार दिन हुने भन्दै नेपालको संविधान र राज्यले अंगिकार गरेको समानताको सिद्धान्तविपरीत हुने गरी बोलेका हुन्।

कँडेलले समितिमा भने, ‘माइतीवालाले चेलीबेटीलाई बिहे गरेर जाने घरमा श्रीमान, सासु–ससुरालाई यसरी सेवा गर्नू भन्छौं। जुन संस्कारमा छौं त्यहाँ समानताको नाउँमा ए छोरी त्यहाँ जानेबित्तिकै पहिले आफ्नो समान हक खोज्नु, तिमीले भूजा पकाउँछ्यौ भने श्रीमानलाई भाँडा माझ्न लगाउनु भन्दैनौं। मिलेर बराबर काम गर्नु, गएर पहिले आफ्नो हकहिस्सा माग्नु भनेर सिकायो भने कुनै पनि परिवार सुखमा रहन्न, सबै विघटन हुन्छ।’

उनले सबै कुरामा समान अधिकार हुनुपर्छ भन्ने भन्दा पनि संस्कारमा बस्नु भनेर छोरी चेलीलाई सिकाउनुपर्ने उल्लेख गरे। सांसद कँडेलले छोरीवालको भूमिका जहिले पनि तल हुने जिकिरसमेत गरे।

‘परम्परादेखि चलि आएको सोचाइविचारले बुहारीलाई कसरी म्यानेज गर्ने भन्ने कुरा कानुनले बाँधेर बाँध्न सकिन्न।

जहिले पनि छोरी पक्षवालाको हात तल हुन्छ। समानताको हक माग्ने, समान रूपमा लड्ने भन्ने कुरा परिवार बाहिर समाजमा जायज हो, कँडेलले अगाडि भने, ‘तर परिवारभित्र आफ्नो संस्कार संस्कृति व्यवहार आचरणले बाँध्ने हो।’

सांसद कँडेलले महिला समानताबारे गैर जिम्मेवारपूर्ण धारणा राखे पनि समितिका अरु कुनै पनि सांसदले प्रतिवाद गरेनन्।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्