टीट्वेन्टी क्रिक‍ेटमा गेलका २२ शतक, १७५ रनसम्मको पाली

जमैका :  टीट्वेन्टी क्रिकेट र क्रिस गेल पर्यायवाचीजस्तै लाग्छन्। उनको विस्फोटक ब्याटिङका विश्वभर करडौँ फ्यान छन्। उनलाई टीट्वेन्टी क्रिकेटका ‘सचिन तेन्दुलकर’ पनि भन्ने गरिन्छ।

२० ओभरको खेलमा एकै खेलाडीले सय रन बनाउनु सामान्य पक्कै हैन। तर गेलले यो स्वरुपको क्रिकेटमा २२ सतक बनाएका छन्। सर्वाधिक सतक बनाउने टीट्वेन्टी ब्याट्सम्यानमा उनी दोस्रो स्थानमा रहेका ब्रेन्डन म्याकलमभन्दा १४ सतकले अगाडि छन्।

विज्ञापन

ओपनरका रुपमा उत्रने यी ब्याट्सम्यान सतक बनाएका १५ खेलमा ‘नटआउट’ रहेका थिए। वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको बुधबार बिहानको खेलमा गेलले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध सतक बनाए, एक सय १६ रनको पाली खेल्दै छ। यो खेलमा उनको स्ट्राइक रेट एक सय ८७ रहेको थियो अर्थात प्रति बल करिब दुई रन। ३९ वर्षको उमेरमा पनि गेलको ब्याटको तागत अझै उस्तै छ।

गेलले इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको एकै खेलमा एक सय ७५ रनसम्म बनाएका थिए। टीट्वेन्टी क्रिकेटको एकै पालीमा सर्वाधिक रन बनाउने गेलको यो कीर्तिमानको छेउछाउ पनि हालसम्म कुनै ब्याट्सम्यान पुग्न सकेका छैनन्। उनले तीन सय ८६ टीट्वेन्टी खेलमा ८० अर्धसतक पनि बनाएका छन्। उनी सहभागी विश्वका प्राय सबै ब्यावशायीक क्रिकेटमा गेलले सतक बनाएका छन्।

उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २ सतक र १३ अर्धसतक बनाएका छन्। सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलोसतक बनाएका गेलले अन्तिमपटक २०१६ मा इङ्ल्यान्डविरुद्ध सतक बनाएका थिए। यी ब्याट्सम्यानले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएको चर्चा चलेपनि यसलाई उनले पूर्णरुपमा स्पष्ट पारेका छैनन्। गेलले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवशीयतर्फ २५ सतक र ५४ अर्धसतक तथा टेस्टतर्फ १५ सतक र ३७ अर्धसतक बनाएका छन्।

टेस्टमा तेहोरो सतक, एकदिवशीयमा दोहोरो सतक र टीट्वेन्टी अन्तर्राष्ट्रियमा सतक बनाउने उनी विश्वकै एकमात्र क्रिकेटर हुन्। उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन जोड्ने वेस्ट इन्डिजका ब्याट्सम्यान हुन्। उनले ब्रायन लाराको नाममा रहेको कीर्तिमान तोडेका हुन्।

 

 

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्