दुई बालिका एक हप्तादेखि बेपत्ता

सल्यान– एक हप्तादेखि सल्यानका दुई बालिका बेपत्ता भएका छन्। वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन्।

माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। परिवारले सबै ठाउँमा खोजेर नभेटेपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिए।

विज्ञापन

‘भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएका छन्, आफन्तले सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौँ।’ वलीले भने।

घरपरिवारले खोज तलास गरिदिनका लागि वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन दिएको त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिए।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्