नेकपाले दियो उप–निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी महासचिव पौडेललाई

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा उप–निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले दल दर्ताको जिम्मेवारी पार्टी महासचिव बिष्णु पौडेललाई दिएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा पार्टी एकताका बाँकी कामबारे कुनै पनि छलफल भएन।

यस्तै बैठकमा बीस दिन अघि पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले नेतृत्वको निर्णय र कार्यशैलीलाई लिएर पार्टी सचिवालयमा दर्ता गरेको असन्तुष्ट पत्रबारे पनि कुनै छलफल भएन।

सिंगापुरमा दुई साता लामो उपचार गरेर फर्किएको पाँचौँ दिनमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका थिए। यही भदौ ५ गते ओलीले पार्टीको निर्णय अधिकार अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)लाई सुम्पिएर गएपछि दाहालले एक पटक मात्रै भदौ ९ गते आफ्नो एकल अध्यक्षतामा बैठक सम्पन्न गर्ने मौका पाएका थिए।

त्यसबेला उनले बैठक मार्फत पार्टी भित्र अनुशासन उल्लङ्घनको प्रवृति मौलाएको भन्दै उपरान्त पार्टी नेतृत्व विरुद्ध नेता, कार्यकर्ताले सार्वजनिक रुपमा आलोचना एवम् टिप्पनी गर्न नपाउँने निर्णय गराएका थिए।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू