किटक्याट अब कागजको र्‍यापरमा, नेस्लेले प्लास्टिकको प्रयोग बन्द गर्ने

कागजमा र्‍याप गरिएको किटक्याट। यसबाट बनाइएको ओरिगामी।

काठमाडौँ: चर्चित चक्लेट ब्रान्ड किटक्याट अब कागजभित्र ‘र्‍याप’ भएर बजारमा आउने भएको छ। यो तत्काल जापानमा सुरु भएको छ भने सन् २०२५ सम्म नेस्लेका सबै उत्पादन ‘रिसाइकल प्याकेजिङ’मा उत्पादन हुने भएका छन्।

चक्लेटको ‘कभर’लाई पुन प्रयोग गर्न मिल्ने बनाउने योजना कार्यान्वयनका क्रममा किटक्याटको कभर कागजको बनाउन लागिएको जनाइएको छ। खाना र पेय पदार्थमा नाम कमाएको नेस्लेको मुख्य कार्यालय स्विजरल्यान्डमा रहेको छ। किटक्याटको यो कभरलाई प्रयोग गरेपछि ओरिगामीका रुपमा सजाउन सकिने पनि कम्पनीले जानकारी गराएको छ।

विज्ञापन

नेस्लेले गत वर्षमात्र २१ दशमलब ७ बिलियन अमेरिकी डलरभन्दा बढीको पेय पदार्थ उत्पादन गरेको थियो। उसका पेय पदार्थ तरल र धुलो दुवैरुपमा उपलब्ध छन्।

किटक्याटको ठूलो बजार जापान हो। जापानमा हरेक दिन ४० लाख किटक्याट बिक्री हुन्छ। कागजको प्रयोग हुन थालेपछि जापानमा वार्षिक तीन सय ८० टन प्लास्टिकको खपत कम हुने छ। वातावरण मैत्री बनाउन विभिन्न कम्पनीले प्लाष्टिकको प्रयोगलाई कम गर्दै लगेका छन्।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्