ल्याण्डफिल साइटको उद्घाटन गर्ने विषयमा विवाद

फाइल तस्बिर

नेपालगञ्ज– नेपालगञ्ज–२३ हिरमिनिया बनेको ल्याण्डफिल साइटको उद्घाटन कसले गर्ने भन्ने विषयमा चर्को विवाद भएको छ।

यसअघिको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले प्रधानमन्त्रीलाई बोलाउने र प्रधानमन्त्री आउन नभ्याए नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राई र नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले संयुक्त रुपमा उद्घाटन गर्ने निर्णय गरेको थियो।

मन्त्री राईले मेयरसँग संयुक्त उद्घाटन गर्न नमानेपछि बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा चर्काचर्की भएको हो।

शहरी विकास मन्त्रीले मात्रै उद्घाटन गर्ने भए ‘कार्यक्रम नै बहिष्कार’ गर्नेसम्मको छलफल भएपनि अन्तिममा मेयर राणा लचिलो भएका थिए। मेयर राणाले उद्घाटन कसले गर्ने भन्ने विषयमा अल्झिनु नहुने बताएपछि चर्काचर्की साम्य भएको हो।

यद्यपी कांग्रेस निकटहरु कार्यक्रम बहिष्कारको मनस्थितिमा पुगेका छन्। उपमेयर उमा थापामगरले ल्याण्डफिल साइटको उद्घाटन कार्यक्रममा ‘मन लागेका जान सक्ने र जान मन नलागेकाहरु नजाने’ प्रतिक्रिया दिइन्।

‘नेपालगञ्ज उपमहानगरपालिकाको हरेक कुरामा मन्त्री राईले असहयोग गरेका कारण जानु हुँदैन भन्ने हो, मन लागेका साथीहरु जानुहुन्छ, मन नलागेका जाँदैनन्’, उपमेयर थापाले भनिन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले उपमहानगरपालिकाको यसअघिको बोर्ड बैठकले मन्त्री र मेयरले संयुक्त उद्घाटन गर्ने निर्णय गरेकाले केहीबेर छलफल भएपनि अन्तिममा मन्त्रीले मात्रै उद्घाटन गर्ने र मेयर विशिष्ट अतिथि हुने गरी कार्यक्रम तालिका बनाइएको बताए।

‘नेपालगञ्ज निवासी मन्त्री राई र मेयर राणा दुवै विकासप्रेमी हुनुहुन्छ, उहाँहरुलाई मिलाएर हामीले विकासमा फाइदा लिनुपर्छ’, प्रवक्ता रिजालले भने, ‘शिलालेखमा कसको नाम लेख्ने विषयलाई ठूलो कुरा बनाउनु हुँदैन।’

नेपालगञ्ज उपमहानगरपालिकाले जग्गा खोज्नेदेखि किन्ने र विवाद मिलाउने काम गरेको हुनाले आफ्नो ‘उपस्थिति’ देखाउन खोजेको हो।

उपमहानगरपालिका स्रोतका अनुसार, मन्त्री राईले संयुक्त रुपमा उद्घाटन गर्न मानिदिएको भए विवाद नै आउँदैनथ्यो। मर्यादाक्रमका हिसावले मन्त्री राईले मेयरसँग संयुक्त उद्घाटन गर्न मानेनन्।

नेपालगञ्ज–२३, हिरमिनियामा ३८ करोडको लागतमा आधुनिक ल्याण्डफिल साइट बनेको छ। फोहोर फाल्ने ठाउँ नभएर सधैँ समस्यामा पर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिकालाई आधुनिक ल्याण्डफिल साइट बनेपछि राहत मिलेको छ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्