बसभित्रै बालिकालाई दुर्व्यवहार गर्ने चालक र सहचालक पक्राउ

मोरङ– यात्रुबहाक बसभित्रै एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी मोरङले दुई जनालाई पक्राउ गरेको छ।

धनकुटा घर भएकी १५ वर्षीया एक बालिकालाई रंगेलीका बस चालक किरण खड्का र उर्लाबारीका सहचालक सन्तोष न्यौपानेले आइतबार राती जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

विज्ञापन

आफन्तकहाँ बस्दै आएकी पीडित बालिका बेलबारीस्थित वेतना सिमसार घुमेर फर्कने क्रममा धरानबाट काकरभिट्टातर्फ जाने ना ६ ख ९३४४ नम्बरको सुनकोशी सुपर बसमा चढेकी थिइन्।

झापाको दमकमा ओर्लन खोज्दा चालक खड्काले बालिकाको हात समाई बसको पछाडीको सिटमा फकाएर राखेका थिए। बस पथरीशनिश्चरे हुँदै बेलुका रंगेली नगरपालिकास्थित दोहमना हाटचौक पुगेपछि खड्का बालिकामाथि आक्रमण गर्न पुगे।

साँझ करिब साढे ६ बजेको समय बालिकामाथि जबरजस्ती करणी गर्ने क्रममा बालिका अत्तालिँदै बसबाट ओर्लन खोजेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

बालिकाले बसभित्रैबाट चिच्चाउँदै कराउन थालेपछि, स्थानीयको भीड जम्मा भएको थियो। सोही क्रममा बसलाई घेरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सोही क्रममा इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीको टोलीले बस चालक खड्का र सह चालक न्यौपानेलाई पक्राउ गरेको थियो।

पक्राउ परेका दुवैमाथि रंगेलीस्थित इलाका प्रहरी कार्यालयले बुधबार मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिए।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू