वसन्तपुरमा दोस्रो दिन देखाइयो भक्तपुरको महाकाली नाँच

इन्द्रजात्राको दोस्रो दिन वसन्तपुर दरवार स्क्वायरमा भक्तपुरको महाकाली नाँच देखाइएको छ। मंगलबार साँझ आदिमकालदेखि नै देवासुर संग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाच सातदेखि नौ तालमा नाचिने नाँच देखाइएको हो।

यसअघि भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि इन्द्रजात्राको प्रारम्भ भएको थियो। यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरिएको छ। आठ दिनसम्म मनाइने उक्त तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।

विज्ञापन

हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलाइ ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। नेपाल भाषामा ‘योसीं’ भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ।

उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन। इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ।

यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। इन्द्रध्वजाको लिङ्गो ठडयाएपछि सुरू भएको जात्राभरी आठ दिनसम्म राजधानीका विभिन्न ठाउँमा भक्कुनाचहलचोकको (सवभकु ), भक्तपुरको महाकालीनाच, मजिपातको मजिपमत लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा(किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ।

यस उपलक्ष्यमा काठमाडौबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइचो लाग्छ। साथै कुमारीघरअगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू