इण्डो–प्यासिफिकबारे प्रचण्डलाई उद्ध‌ृत गर्दै आएको चिनियाँ दाबीबारे नेपाल अध्ययन गर्दै

काठमाडौँ– चिनियाँ विदेश मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उद्ध‌ृत गर्दै ‘नेपाल इण्डाे–प्यासिफिक रणनीतिलाई अस्वीकार गर्छ’ भन्ने वक्तव्यलाई नेपाल सरकारले स्वामित्व नलिएको बुझिएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भेटेका पाँच उच्च आधिकारिक व्यक्तित्वमध्ये दाहाललाई मात्र उद्ध‌ृत गरिएको र नेपाल सरकारले परराष्ट्र मन्त्रालयलाई केही जानकारी नदिएकाले मन्त्रालय तत्काल त्यसबारे आधिकारिक धारणा बनाउन असमर्थ रहेको मन्त्रालयको एक स्रोतले बतायो।

विज्ञापन

यसअघि पनि अमेरिकी विदेश मन्त्री माइक पाम्पियोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखि इण्डो–प्यासिफक रणनीतिमा सहयोग पर्‍याउने प्रतिवद्धता गरेवापत धन्यवाद दिएका थिए।

यद्यपी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले त्यसबारे कुनै धारणा बनाई नसकेको दाबी गरेका थिए।

अमेरिकाको दावी, परराष्ट्र मन्त्री ज्ञवालीको त्यस विपरितको तटस्थता र नेता दाहालले वाङ यीलाई सम्पूर्ण रुपमा त्यसलाई अस्वीकार गरेको चिनियाँ दाबीले परराष्ट्र मन्त्रालय भित्रै खैलाबैला र अनिश्चिता उत्पन्न भएको छ।

दाहालले वाङ यीसँगको भेटमा आफ्नी छोरी गंगा दाहाललाई समेत लगेकाले एकातिर पार्टीमा आपत्ति जनाइएको छ भने विदेश विभाग (नेकपा) का प्रमुख माधवकुमार नेपालले आफू र सम्बन्धित निकायलाई गुमराहमा राखेर भएको उक्त भेटप्रति आपत्ति जनाएका छन्।

वाङ यीसँगको बैठकमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत रहेकाले उनको ‘प्रतिवेदन’ माग गरिएको परराष्ट्र स्रोतले दावी गर्‍यो। तर एकतर्फी रुपमा चीनबाट वक्तव्य आईसकेपछि नेपालले त्यसलाई कसरी प्रतिवाद वा स्पष्ट गर्ने भन्नेमा थप संकट उत्पन्न भएको पनि स्रोतको दाबी छ।

अमेरिकी दुतावासले भेनेजुयला प्रकरणमा जस्तै स्पष्टीकरण मागेमा त्यसबारे के गर्ने भन्ने बारे परराष्ट्रमन्त्री र सम्बन्धित अधिकारीहरुबीच बिहीबार छलफल हुन सक्ने बुझिएको छ।

आफ्ना राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लिएर नेपालको पूर्व तयारीबारे बुझ्न आएका चिनियाँ विदेशमन्त्री वाङ यी करिब ४० घण्टा बिताएर मंगलबार दिउँसो स्वदेश फिर्ता भएका थिए।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्