नेपालगञ्ज

‘क्यासिनो सिटी’ किन प्राथमिकता ?

नेपालगञ्ज – पुरानो शहर हो, नेपालगञ्ज । वि.सं. २०१७ सालकै नगरपालिका । काठमाडौँ, विराटनगर, पाल्पापछि गनिएको शहर । सन् १८५७ मा भएको लखनऊ विद्रोह दबाउन श्री ३ जंगबहादुर राणा आफै गएपछि अंग्रेजले खुशी भएर फिर्ता दिएको ‘नयाँ मुलुक’ को सदरमुकाम हो, नेपालगञ्ज ।

बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई नयाँ मुलुक भन्ने गरिन्छ । मुख्तियार भीमसेन थापाको पालामा सन् १८१५ को ‘एंग्लो वार’ पछि यो भूमि अंग्रेजले कब्जा गरेको थियो । यो पुरानो शहर यत्तिका वर्षसम्म ‘पुरानो’ नै भइरह्यो ।

विज्ञापन

भाइ शहरहरुले तिब्र विकास गर्दा नेपालगञ्जले आशातित फड्को मार्न सकेन । पाँच विकास क्षेत्रको अवधारणामा मध्य र सुदूरपश्चिमको केन्द्रविन्दु रहेको नेपालगञ्ज संघीयतामा कुनामा प¥यो, गुमनामजस्तै भयो । यतिसम्म कि भाइ शहरहरुले ‘राजधानी’ को चर्को आवाज उठाउँदा नेपालगञ्जको स्वर दबेर रह्यो । चर्को स्वरमा बोल्नसमेत सकेन । काठमाडौँलाई दबाब दिने ‘आवाज’ कतैबाट निस्केन ।

एशियाली विकास बैंक (एडीबी) ले हात हालिदिएपछि नेपालगञ्ज ‘हेर्न लायक’ भयो भन्दा हुन्छ । सडक फोरलेनका भए । भित्री बाटो फराकिलो भयो । बाटो फराकिलो के हुनु थियो, बजार नै व्यवस्थित देखियो । नाली व्यवस्थित भए । फोहोर फाल्ने ठाउँ नभएर हैरान भएको नेपालगञ्जमा आधुनिक ल्याण्डफिल साइट बन्यो । पछिल्लो वर्षमा नेपालगञ्ज आउनेलाई बल्ल लाग्यो होला कि नेपालगञ्ज बास्तवमै पुरानो शहर रहेछ । विकसित रहेछ ।

उद्योग, कलकारखाना, बजार, शिक्षा, स्वास्थ्य र खेलकुदको शहरको ‘उपमा’ पाइरहेको नेपालगञ्जलाई अब ‘क्यासिनो सिटी’ बनाउने मेयर डा. धवलशमशेर राणाले सपना देखेका छन् । मेयर राणाले पछिल्लो समयमा अतिथि भएर जाने हरेकजसो कार्यक्रममा नेपालगञ्जलाई क्यासिनो सिटी बनाउने बताइरहेका छन् ।

क्यासिनो शहर हुँदा नेपालगञ्जलाई के फाइदा हुन्छ ? मेयर राणाको तर्क छ, भारतीय पर्यटकले नेपालगञ्ज भरिन्छ । नजिकै रहेको भारतको ठूलो शहर लखनऊबाट धनाढ्यहरु आउँछन् र पैसा खर्च गरेर जान्छन् । नेपालगञ्जको विकासमा त्यसले ठूलो टेवा पु¥याउँछ । मेयर राणाका अनुसार, नेपालगञ्जमा ४/५ वटा क्यासिनो खुल्दैछन् ।

मेयर राणाको भनाईमा क्यासिनो सिटीका लागि नेपालगञ्जको चोकचोकमा ‘हाइमास्क लाइट’ जडान गरिँदैछ । वीपीचोकमा जडान भइसकेको हाइमास्क लाइट शहरका अन्य १३ ठाउँमा जडान हुँदैछन् । पहिलो चरणमा आठ वटा चोकका लागि टेण्डर निकालिएको छ । शहरलाई झिलिमिली बनाउने भन्दै शहरी विकास मन्त्री मो. इस्तियाक राईले पनि ५० वटा चोकमा हाइमास्क जडान गर्ने उद्घोष गरिरहेका छन् ।

मन्त्री राईको उज्यालो त सायद क्यासिनो सिटी लक्षित छैन । हाइमास्क जडान हुँदा र क्यासिनो सिटी बन्दा नगरवासीलाई फाइदा के ? चोकचोक झिलिमिलि भएपनि १० बजेपछि प्रहरीले पसल बन्द गर्दै हिँड्छ । क्यासिनोका लागि हाइमास्क लगाउन थालेको हो भने उज्यालो मात्रै क्यासिनोमा आउनेका लागि काफी हो त ? उनीहरुको सुरक्षाको सवाल होला । जुवा नै खेलाउनु छ र उनीहरुलाई टिकाइ राख्नु पर्ला । त्यसका लागि उनीहरुले ‘भने अनुसारको सेवा’ दिनुपर्ने होला ।

यसले सीमित क्यासिनोले पैसा कमाउने र बजारमा विकृति फैलिने त होइन ? एकथरी आशंका गरिरहेका छन् । चोकैभरी हाइमास्क लगाउदा गर्मीको शहरमा भोल्टेज र बत्तीको समस्या के होला ? हुन त मेयर राणाले एउटा हाइमास्कको बिल एक हजार दुई सयदेखि एक हजार आठ सयसम्म आउने बताइरहेका छन् । यो पैसाको आँकडालाई हेर्दा हाइमास्कले विजुली धेरै खर्च गर्ने देखिदैन ।

फेरि, क्यासिनो सिटी भन्दा प्राथमिकता अरु छैनन् ? प्रश्न आउँछ । सर्वसाधारण जनताले नै प्रत्यक्ष फाइदा लिने योजनालाई प्राथमिकता दिंदा राम्रो हुन्थ्यो कि ? नेपालगञ्ज उमपहानरपालिकालाई महानगर बनाउने अभियान चलिरहदा क्यासिनो सिटीमा यसको कनेक्सन के हो ? भारतीयहरु नेपालगञ्ज आएर जुवा खेल्दैमा नेपालगञ्जको विकास हुन्छ ? यावत प्रश्न छन् ।

नेपालगञ्जका मुख्य चोकमा खनिएका खाल्डाले क्यासिनो सिटीको पूर्वाधार मानिएको हाइमास्कलाई गिज्याइरहेको छ । आठ वटा चोकमा हाइमास्क लगाउन टेण्डर निकालेर ठेक्का भइसक्दा ठेकेदारले खाल्टोमात्रै खनेर छोड्दा मेयर किन चुप बसिरहेका छन् ? अनि, सबैभन्दा कम टेण्डर हाल्नेलाई ठेक्का दिने परिपाटीले गर्दा चोकमा हाइमास्क लाइट ठडिनु पर्ने बेलामा खाल्टो मात्रै भएको छ । ठेकेदार कम्पनीले काम नै अगाडि बढाएको छैन ।

मेयर राणाले ठेकेदारलाई केही गर्न नसकेको गुनासो गर्दै हिँडेका छन् । मेयरले ठेकेदारलाई केही गर्न सक्दिन भन्नुलाई के भन्ने ? शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटनजस्ता खम्बालाई प्राथमिकतामा राख्नु पर्ने मेयरले क्यासिनोलाई अलि बढी ‘भाउ’ दिनुको कारण जान्न खोजिरहेका छन्, नेपालगञ्जीयाहरु ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्