गाई काण्ड: थप सात जना नगर प्रहरी हिरासतमा

नेपालगञ्ज – नेपालगञ्जदेखि दैलेख लैजाने क्रममा मरेका र जिउँदो गाईलाई सुर्खेतको कटकुवा जंगलमा छोड्ने कार्यमा संलग्न रहेका सात जना नगर प्रहरीलाई सुर्खेत प्रहरीले हिरासतमा लिएको छ ।

गाई काण्डको अनुसन्धान गरिरहेको सुर्खेत प्रहरीको ‘दबाब’मा बुधबार सुर्खेत पठाइएका सात जना नगर प्रहरीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

गाई काण्डमा यसअघि नै नेपालगञ्ज उमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नगर प्रहरीबाहेक थप सात जना ट्रक चालक र सहचालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।

सुर्खेत प्रहरीको आग्रह अनुसार बुधबार नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नै गाडीमा राखेर सात जना नगर प्रहरीलाई सुर्खेत पठाएको थियो । ती सातै जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेत प्रहरी प्रमुख एसपी बसन्त रजौरेले थप सात जनालाई अनुसन्धानको दायरामा ल्याएको बताए । ‘नेपालगञ्जबाट गाई लिएर आएकाहरुलाई अनुसन्धानको दायरामा ल्याएका छौं, एसपी रजौरेले भने ।

भदौ १२ गते राती आठ वटा ट्रकमा २ सय ९१ वटा गाई, बाछाबाछीलाई दैलेखको श्रीस्थान लैजाने भन्दै नेपालगञ्जबाट लगिएको थियो । ती गाई, बाछाबाछीलाई दैलेख नपु¥याएर सुर्खेतको कटकुवा जंगलमा छोडिएको थियो । तीमध्ये ट्रकमा कोचेर लैजादा तीन दर्जन गाई मरेका थिए ।

यो घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानबिन टोली बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले वारका अध्यक्ष विकास आचार्यको नेतृत्वमा छानबिन टोली बनाएको छ । यी दुवै टोलीलाई १५ दिनको समय दिइएको छ । १५ दिन पुगेको छैन ।

सुर्खेत लगिएकामध्ये बाँचेका सबैजसो गाई नेपालगञ्ज फिर्ता गरिसकिएको छ । गाई काण्डमा जनप्रतिनिधि र नेपालगञ्ज उपमहानगरपालिका उच्च कर्मचारी कारबाहीको दायरामा पर्छन् कि पर्दैनन् सर्वत्र चासोको विषय बनेको छ ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्