इण्डो–प्यासिफिकबारे धारणा सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले इण्डो–प्यासिफिकबारे आफ्नो धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।

भुसालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा अमेरिकी दूतावासले इण्डोप्यासिफिकबारे स्पष्टिकरण सोधेको हो कि होइन? भन्नेबारे स्पष्ट पार्न आग्रह गरेकी हुन्।

‘पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिमा अडिग रहेको र इण्डो–प्यासिफिकमा नेपाल नरहेको भनेको कुरालाई अमेरिकी सरकारले दूतावासमार्फत नेपाल सरकारसँग स्पष्टिकरण माग्दैछ भनेको सुनियो, यसमा सरकारले प्रष्ट पारोस्’, भुसालले भनिन्।

उनले अमेरिकी सेना र सशस्त्र प्रहरीबीच हुने भनिएको सैन्य अभ्यास रोक्न माग गरिन्। भुसालले नेपालले आफूलाई असंलग्न परराष्ट्र नीतिमा कायमै राख्नुपर्ने बताइन्।

विश्व दुई ठूलो ध्रुव विभाजित रहँदा पनि नेपाल असंलग्न रहेको स्मरण गर्दै उनले आगामी दिनमा पनि नेपालले आफूलाई तटस्थ राख्नुपर्ने सुझाव दिइन्।

भुसालले अमेरिकी सेनासँग सशस्त्र प्रहरीलाई सैन्य अभ्यास नगराउन पनि सरकारलाई आग्रह गरिन्। ‘अगष्टमा अमेरिकी दूतावासले नेपाल सरकारलाई चिठी लेखेको छ। नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीसँग दुई सैन्य अभ्यास गर्ने भनेर’, भुसालले अगाडि भनिन्, ‘अन्नपूर्ण र कुरिनटारमा अभ्यास गर्ने भनेर चिठी लेखेको छ। यो प्रकारको अभ्यास नगरियोस् भन्ने आग्रह गर्दछ।’

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्