फिल्म हलमा राष्ट्रगान बजाउने हल्ला निराधारः सञ्चारमन्त्री बास्कोटा

काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले फिल्म हलहरुमा राष्ट्रगान बजाउने हल्ला निराधार रहेको बताएका छन्।

बिहीबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले यस्तो बताएका हुन्।

विज्ञापन

उनले भने, ‘यो विषय आफ्नाे मन्त्रालय मातहत भएपनि मैले यसबारे थाहा पाएको छैन। यो हल्ला कहाँबाट आयो, मलाई थाहा छैन।’

यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले पशुपतिमा आरती भन्दा अगाडी राष्ट्रगान बजाउन निर्देशन दिएपछि उनी विवादमा परेका थिए।

पशुपति बागमती गंगा आरती सञ्चालक समितिले मन्त्री भट्टराईको निर्देशन अवज्ञा गर्दै आरतीअघि राष्ट्रगान नबजाउने निर्णय गरिसकेको छ।

बुधबार बसेको नेकपाको सचिवालय बैठकमा समेत पशुपति आरतीमा राष्ट्रगान बजाउने निर्देशनबारे सदस्यहरुले चासो देखाएका थिए।

संस्कृतिविद् सत्यमोहन जोशी तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन लगायतले आर्यघाट क्षेत्रमा राष्ट्रगान बजाउनु राष्ट्रगानकै अपमान हुने उल्लेख गर्दै आरतीका क्रममा राष्ट्रगान नबजाउन सुझाव दिएका थिए।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू