अनाैठाे डिजाइनकाे सडक: बीच सडकमा बनेकाे नालीले दुर्घटनाकाे जाेखिम

वीरगञ्ज– पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौता टोलमा ठेकेदारले सडकको बीचमा निर्माण गरेको नालीमा स्ल्याब नराखेका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन्।

मुख्य सडकको बिच भागमा निर्माण गरिएको नालीलाई ढाक्ने स्ल्याब निर्माण नगरिएका कारण दुर्घटनाको जोखिम बढेको स्थानीय समिम गदीले बताए। नाली निर्माण भएको तीन महिना बितिसक्दा समेत ठेकेदारले नालीमाथि अहिलेसम्म स्ल्याब नराखेको उनकाे भनाई छ।

विज्ञापन

ठेकेदार कम्पनी एलिशा कन्स्ट्रक्शनलाई निर्माण गरेको नालीमाथि सल्याब राख्न आफूहरुले बारम्बार आग्रह गर्दासमेत कुनै सुनुवाई नभएको गदीले बताए। ठेकेदारले तीन महिना अघि नै निर्माण भएको नालीको भुक्तानीसमेत लिईएसकेको उनले बताए।

उक्त नालीमा परेर विगत एक महिनामा तीनवटा मोटरसाइकल दुर्घटनामा परेको गदीले बताए।

यस्तै बुधबार राति मोटरसाइकल दुर्घटनामा परि आफू घाइते भएको स्थानीय रितेश कुमार कुशवाहाले बताए। ‘स्ल्याब नराखिएको नालीमा मोटरसाइकल खसेर मेरो हातखुटामा चोट लाग्यो’, कुशवाहाले भने,‘सडकमा निर्माण भएको नालीमाथि स्ल्याब नराखेकै कारण मोटरसाईकल चालकहरु बढी दुर्घटनामा पर्ने गरेका छन्।’

यस्तै जगरनाथपुर गाउँपालिकाका प्रमूख जालिम मियाँले भने नालीको बारेमा आफूले वडाध्यक्षलाई स्ल्याब राख्न लगाउन भनेको बताए। उनले अब आफै गएर नालीमा स्ल्याब राख्न लगाउने प्रतिक्रया दिए।

ठेकेदार कमपनका सञ्चालक अफ्ताब मियाँले नालीमाथि स्ल्याब राख्ने काम शुरु भईसकेको बताउँदै एक दुई दिनमै नालीमाथि स्ल्याब राखेर सकिने दावी गरे।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू