डेङ्गी संक्रमणबाट विराटनगरमा एकको मृत्यु

मोरङ-विराटनगरमा डेंङगीबाट संक्रमित एक विद्यार्थीको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१० मा रहेको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत १८ वर्षीय अविनाश शर्माको उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

विज्ञापन

फर्निचर उद्योग सञ्चालक राजकुमार शर्माका छोरा अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि सप्तकोसी नर्सिङ होममा भर्ना गरिएको थियो। अस्पतालको बहिरंग विभागमा परीक्षण गराउँदा उनमा डेङ्गीको संक्रमण रहेको रिपोर्ट दिएको आफन्तले बताएका छन्।

विरामीलाई घरमै राखेर चिकित्सकको सिफारिसमा औषधि खुवाउँदै आए पनि दुई दिनपछि ज्वरो बढ्नुका साथै वान्ता हुन थालेको मृतकका आफन्त उमेश शर्माले बताए।

अर्कोतर्फ अस्पतालका फिजिसियन डा. अरविन्द साहले शर्मामा डेङ्गीको संक्रमण देखिएको बताएकाछन्।

दुई दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार जारी राखिए पनि स्वास्थ्यमा सुधार नभएपछि अविनासलाई थप उपचारका लागि मंगलबार गोल्डेन अस्पतालमा भर्ना गरिएको उमेशले जानकारी दिए।

गोल्डेन अस्पतालमा उपचार सम्भव नभएको र अविनासको मृत्यु भएको उनले बताए। शर्माको गोल्डेन अस्पतालमा बुधबार मृत्यु भएको हो। अस्पतालले दिएको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण डेङ्गी उल्लेख गरिएको छ।

विद्यार्थीको असामयिक निधन भएको शोकमा कलेजले बिहीबार एक दिन विदा दिएको कलेजका सञ्चालक ज्ञानु खड्काले जानकारी दिए।
धरानबाट सुरु भएको डेङगीको हाल मुलुकको ५६ जिल्लामा संक्रमण फैलिएको छ।

मोरङमा भने हालसम्म १ सय ५९ जनामा डेङ्गी संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।त्यसैगरी प्रदेश एक समाजिक मन्त्रालयले यस प्रदेशमा हालसम्म ३ हजार ९ सय ८३ जनामा डेङ्गी संक्रमण भइसकेको जनाएको छ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू