‘डेंगीकाे प्रकाेप नेपालकाे मात्रै समस्या हाेइन’

सांकेतिक तस्बिर

काठमाडौँ– पछिल्लो समय नेपालका अधिकांश जिल्लामा फैलिएको डेंगीको समस्या नेपालको मात्र नभएर विश्वकै समस्या भएको विश्व स्वास्थ्य संगठनका प्रतिनिधी बीएन नाग्पालले बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नाग्पालले डेंगीको प्रकोपको समस्या नेपालको मात्र नभएर विश्वकै समस्या भएको बताएका हुन्।

विज्ञापन

उनले भने,‘पछिल्लो समय दक्षिण एशियामा डेंगीको प्रकोप दिन प्रतिदिन बढ्दै गइरहेको छ, तर डेंगीकै कारण मृत्यु हुनेको संख्या भने घटेको छ।’ सन् १९५६ मा ९ देशमा देखा परेको डेंगी अहिले ९ सय ९६ देखा परेको उनले बताए।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनकै प्रतिनिधि रुङनेङ वाङ्चुङले डेंगी रोकथामको जिम्मेवारी सरकारको मात्र नभएर सम्पूर्ण नागरिकको भूमिका उत्तिकै हुनु पर्ने बताइन्।

उनले भनिन्,‘डेंगीलाई कन्ट्रोलमा ल्याउनु छ भने सबैभन्दा पहिला लार्भा नष्ट गर्नुपर्छ। यसका लागि सबै एकजुट हुनुपर्छ। आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ र डेंगीलाई सधैका लागि अन्त्य गरौँ।’

वैशाख महिनाबाट धरानमा देखा परेको डेंगी अहिले देशका ५७ जिल्लामा देखा परेको छ भने यसको संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको इपिडिमोलाेजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ।

डेंगीको प्रकोप दिन प्रति दिन बढ्दै गएपछि राष्ट्रियसभाको बैठकमा सांसदहरुले समेत डेंगी संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएकाे हुँदा तत्काल संकटकाल घोषणा गरी नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। स्वास्थ्य मन्त्रालयले भने संकटकाल घोषणा गरिहाल्नु पर्ने अवस्था आइनसकेको जनाएको छ।

त्यस्तै सांसदहरुले सदनमा पटक–पटक डेंगीको विषय उठाएपछि प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्ण बहादुर महाराले डेंगीबारे यथाशिघ्र जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

 

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्