३६ लाखको शंकास्पद मालसमान लोड भएको ट्रक प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

वीरगञ्ज– ३६ लाख बराबरको शंकास्पद मालसामान लोड भएको ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्जबाट चितवनतर्फ जान लागेको पशुपति ट्रान्सपोर्टको ना ३ ख ६५९ नम्बरको ट्रकमा शंकास्पद मालसमान लोड भएकोले नियन्त्रणमा लिएको हो।

विज्ञापन

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चौकमा चेकजाँच गर्नेक्रममा उक्त ट्रकमा लोड गरिएको मालसामानहरु शंकास्पद रहेको पाइएपछि नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

नियन्त्रणमा लिइएको उक्त ट्रकभित्र ३६ लाख ४४ हजार २ सय २९ रुपैयाँ बराबरको औषधी, जिरा, कपडा, इलेक्ट्रोनिक्स लगायतका विभिन्न सामान लोड गरिएको थियो।

लोड गरिएको सो सामानहरूको कागजातहरू शंकास्पद देखिएकोले मालसामानसहित ट्रकलाई थप अनुसन्धान तथा कारवाहीको लागि मध्य क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको प्रहरी नायब उपरिक्षक राठौरले बताए ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्