उद्घाटन कसले गर्ने विवादले कार्यक्रम खल्लो

नेपालगञ्‍जमा बन्यो पहिलो आधुनिक ल्याण्डफिल साइट

नेपालगञ्‍ज-नेपालमै पहिलो पटक नेपालगञ्जमा एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) सञ्चालनमा आएको छ।

एशियाली विकास बैंक (एडीबी) को साझेदारीमा ३८ करोड ९३ लाख ४२ हजार रुपैयामा ल्याण्डफिल साइट बनेको हो। ल्याण्डफिल साइटको बिहीबार नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राईले उद्घाटन गरे।

ल्याण्डफिल साइट कसले उद्घाटन गर्ने भन्ने विषयमा रहेको चर्को विवादले गर्दा नेपालमै पहिलो पटक बनेको आधुनिक ल्याण्डफिल साइटको उद्घाटन भब्य हुन सकेन।

उद्घाटन समारोहमा उपमेयर उमा थापामगरलगायत कांग्रेसका जनप्रतिनिधिको उपस्थिति नै भएन। कार्यक्रमको अध्यक्षता मेयर डा. धवलशमशेर राणाले गर्ने तालिका बनेकाले उनी उपस्थित भएपनि राप्रपाका अरु वडाध्यक्ष तथा जनप्रतिनिधिहरु कार्यक्रममा देखिएनन्। न त कांग्रेस र राप्रपाका नेताहरु नै कार्यक्रमस्थलमा देखिए।

नेकपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद आइपी खरेल र चार जना वडाध्यक्ष कार्यक्रमस्थलमा देखिएका थिए। नेकपाकै अरु नेताहरु पनि देखिएनन्। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडा छन्।

वडाध्यक्ष र सदस्य तथा कार्यपालिकाका सदस्यहरु कार्यक्रमस्थलमा नजादा वर्षौदेखिको ठूलो समस्या झेल्दै आएको फोहोरको व्यवस्थापन भएर ठूलो खुशीयाली ल्याएको ल्याण्डफिल साइटको उद्घाटन खल्लो भयो।

नेपालगञ्ज उपमानगरपालिकाले बोर्ड बैठकबाट मन्त्री राई र मेयर डा. राणाले संयुक्त उद्घाटन गर्ने निर्णय गरेको थियो। मन्त्री राईले मेयरसँग संयुक्त उद्घाटन गर्न मानेनन्। त्यसमा पनि मन्त्रीले एक्कासी ल्याण्डफिल साइटको उद्घाटन गर्ने कार्यतालिका बनाइदिएपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि चिढिएका हुन्।

अधिकांश जनप्रतिनिधि र स्थानीय नेताहरुको उपस्थिति बाक्लो नदेखिएपछि ‘वास्तविकता’ बुझेका मन्त्री राईले विकासमा राजनीति गर्न नहुने बताए। उनले भने, नेपालगञ्जको विकासमा हातेमालो गरेर अघि बढौं। चुनाव आएपछि आ–आफ्नो पार्टीको झण्डा बोकौला।’

मन्त्री राईले यहाँका लागि केही दिनमै दुई अर्ब बढी कार्यक्रमको शिलान्यास हुने खुलासा गरे। उनले एकीकृत शहरको अवधारणा अनुसार नेपालगञ्ज–डुडुवा र जानकी गाउँपालिकालाई जोडेर अघि बढ्न खोजेको बताए।

मन्त्री राईले आधुनिक ल्याण्डफिल साइट बनेसँगै ‘फोहोरबाट मोहर’ फलाउने काम पनि अघि बढ्ने बताए। उनले जिल्लाका दुई हजार पाँच सय बढी घरबाट फुसको छाना हटाउने, नेपालगञ्ज उद्योग बाणिज्य संघलाई फिर्ता भएको जग्गा पुनः दिलाउन सक्दो सहयोग गर्नेलगायतका प्रतिबद्धता गरे।

नेकपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद आइपी खरेलले विभिन्न विरोधहरुका बाबजुद ल्याण्डफिल साइट बनाउन हातेमालो गर्ने नेताहरु नदेखिंदा खल्लो भएको बताए। उनले मन्त्री र मेयरका बीचमा भएका ‘विवाद’लाई इंगित गर्दै विकासमा व्यक्तिगत प्रतिस्पर्धा नगर्न सुझाव दिए।

प्रदेश सांसद खरेलले ‘श्रेय’लिने प्रतिस्पर्धाले केही योजनाहरु फिर्ता गएको आफूसँग अनुभव रहेको बताउदै त्यस्तो नगर्न मन्त्री र मेयरलाई सुझाव दिए। ‘विकासको अवधारणा साझा बनाऔं, सांसद खरेलले भने।

प्रदेश सांसद विजयबहादुर यादवले जिल्लाको विकासमा मातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए।नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले फोहोर फाल्ने समस्या समाधान भएको बताए।

उनले नेपालगञ्जाई महानगर बनाउने अभियान थालेको र त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरे। ‘नेपालगञ्ज महानगर भयो भने कसैसँग हात थाप्नु पर्दैन, मेयर राणाले भने, त्यसका लागि हामीले अध्ययन शुरु गरिसकेका छौं।’ उनले बाँके प्रदेश राजधानी हुन नसकेकाले ५ नम्बर प्रदेशमा बस्नु भन्दा कर्णाली प्रदेशमा मिसिदा सबै जातजातीलाई फाइदा हुने दोहोर्‍याए।

शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, शहरी विकास तथा भवन डिभिजन विभागका महानिर्देशक मनिराम गेलाल, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एडीबीका प्रतिनिधि लक्ष्मी सुवेदी, समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राई र नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले देशमै पहिलो पटक बनेको आधुनिक ल्याण्डफिट साइटले नेपालगञ्जको फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने बताए।

नेपालका आठ वटा शहरमा यसप्रकारको ल्याण्डफिल साइट बन्दै थियो। सबैजसो ठाउँमा विवाद भएर बन्न सकेको छैन। वीरगञ्जमा धेरै काम भइसकेको छ।
नेपालगञ्जमा २०७३ जेठ ३१ मा सम्झौता भएर असार २० गतेदेखि काम थालिएको थियो।

१३ विगाह पाँच कठ्ठामा फैलिएको ल्याण्डफिल साइटमा ३२ वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिन्छ। गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई ल्याण्डफिल साइटमा व्यवस्थापन गरिन्छ। गल्ने फोहोरबाट मल बनाउन अवधारणा अघि सारिएको छ।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्