अवैध रूपमा भित्र्याउँदै गरेका कपडा र कार बरामद

बुटवल– रूपन्देहीको नेपाल भारत सिमा क्षेत्र भैरहवाबाट सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको कपडासहित एउटा कार बरामद गरेको छ। कारमा सबै महिलाहरुले प्रयोग गर्ने कपडाहरु भेटिएका छन्।

जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ डण्डा पुल नजिकै भारतबाट तस्करी गरी नेपाल ल्याउँदै गरेको १ लाख ५२ हजार रुपैयाँ बराबरको लेडिज टप्स कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म हेड क्वाटर (राजस्व भन्सार सुरक्षा) प्रमुख डिएसपी गोबिन्द बहादुर खातीले जानकारी दिए।

विज्ञापन

सशस्त्र प्रहरीले भन्सार सुरक्षा गस्तीले चेकजाँचको क्रममा बा ७ च ५९५४ नम्बरको मारुती सुजुकी कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा १ हजार १६ पिस टप्स बरामद गरेको हो।

यस्तै, उक्त सामान ल्याउन प्रयोग गरिएको कार पनि सशस्त्रले नियन्त्रणमा लिएको छ। कपडा र कार भैरहवा भन्सार कार्यालय चलान गरिएको सशस्त्रले जनाएको छ। कारको मूल्यांकन १२ लाख राखिएको डीएसपी खातीले जनाए।

भारतीय बजार सुनौलीबाट बुटवल ल्याउँदै गरेको उक्त कपडा कारको सिटमुनी र डिक्कीमा लुकाएर ल्याइएको थियो। सशस्त्रले सवारी चालकलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरिएको जनाइएको छ।

तस्करले प्रहरीलाई छलेर अवैध सामान नेपाल भित्राउँदै आएका छन्। चाडपर्व नजिकिँदै जाँदा अबैध रुपमा चोरीनिकासी गर्ने क्रम समेत बढ्न थालेको छ।

चोरी निकासी बढ्न थालेपछि सुरक्षा निकायले पनि सक्रियता बढाउन थालेका छन्। केही समय अगाडि दिल्ली–बुटवल र दिल्ली–काठमाडौं चल्ने गाडीबाट पनि लाखौं रुपैयाँ बराबरको कपडा बरामद गरिएको थियो।

खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले भारतीय बजारबाट खरिद गरी अवैधरुपमा नेपाली बजारमा सामान भित्राउँदै आएका छन्। डीएसपी खातीले राजश्व चुहावट र चोरीतस्करी नियन्त्रण गर्न सशस्त्रले विशेष योजना बनाएर अघि बढेको जानकारी दिए।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्