सुदूरपश्चिम प्रदेशमा २८ जनामा डेंगी संक्रमण

धनगढी-सुदूरपश्चिम प्रदेशमा विहिवार सम्म २८ जनामा डेंगी रोगको संक्रमण देखिएको छ। डेंगी रोगबाट एक जनाको मृत्यु समेत भइसकेको छ।

डेंगी रोगबाट भदौ ५ गते डोटीको दिपायल सिलगढी नगरपालिका ६ की छत्राकुमारी मलासीको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिं कार्कीले जानकारी दिए।पछिल्लो समय देशभरी नै डेंगी रोग प्रकोपका रुपमा फैलिएपछि सबैको ध्यान यसैमा केन्द्रित भएको छ।

विज्ञापन

बिहिवार धनगढीमा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले डेंगी रोगका बारेमा जानकारी दिन तथा नियन्त्रणका लागि सुझाब संकलन गर्न पत्रकार संग अन्तरक्रिया गरेको छ। सो अवसरमा मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले विहिवार सम्म यस प्रदेशका ६ जिल्लामा गरि २८ जनामा डेंगीको संक्रमण देखिएको जानकारी दिए।

उनका अनुसार कैलालीमा १५ जना, दार्चुलामा ६ जना, कंचनपुरमा ४ जना, डोटीमा १ जना, अछाममा १ जना र बैतडीमा १ जना गरि २८ जना डेंगी रोगबाट संक्रमित भएका छन्।

यसरी डेंगी रोगीहरुको संख्यामा बृद्धी भएपछि स्वास्थ्यको पनि जिम्मा रहेको प्रदेश सामाजिक मन्त्रालयले नियन्त्रणको अभियानलाई तिब्रता दिएको जनाएको छ । सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले डेंगी रोग बिभिन्न जिल्लामा देखिएको भएपनि आत्तिनु पर्ने अवस्था नरहेको बताए।

उनले भने–‘समयमै नियन्त्रणको प्रयास थाल्नु पर्छ भनेर मन्त्रालयले कार्ययोजना सहित अभियान अघि बढाएको छ ।’ मन्त्री सुबेदीले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सबै भन्दा राम्रो उपाय भनेको जनचेतना फैलाउनु नै रहेको बताए। उनले भने–‘यसका लागि मन्त्रालयले हरेक जिल्ला स्वास्थ्य कार्यालय र हरेक स्थानीय तह संग समन्वय गरि चेतनामुलक कार्यक्रहरु अघि बढाइ सकेको छ।’

प्रदेश मन्त्रालय मातहतमा रहेका अस्पतालहरुमा ज्वरो ब्यबस्थापनका लागि छुट्टै ओपीडी संचालन गर्न पत्राचार गरिसकेको समेत मन्त्री सुबेदीले जानकारी दिए।
यसैगरी मन्त्रालयले सम्पुर्ण स्थानीय तह र स्वास्थ्य कार्यालयमा दु्रत प्रतिकार्य टोली गठन गरि त्यसलाई ब्यबस्थित बनाउन निर्देशीका बनाएर पठाएको मन्त्रालयका महाशाखा प्रमुख कार्कीले जानकारी दिए।

यससँगै हरेक जिल्लामा जनचेतनामुलक गतिविधिहरु संचालन गर्न, जिल्लामा खोज र नष्ट टिम परिचालन गर्न र डेंगी रोगबारे प्रत्येक दिन सुचना सार्बजनिक गर्न पनि पत्राचार गरिसकेको प्रमुख कार्कीले बताए।

कार्कीले भने–‘सामाजिक विकास मन्त्री ज्युले प्रदेशका सबै अस्पतालमा औषधी उपचारमा अभाव हुन निर्देशन दिईसक्नुभएको छ, मन्त्रालयले पनि मन्त्री ज्युको निर्देशन अनुसार काम अघि बढाईरहेको छ, सबै स्वास्थ्यकर्मीलाई सम्भव भए सम्म जिल्लामै उपचार गर्ने नभए तुरुन्त धनगढी रिफर गर्ने भनिएको छ।’

एडीसीरिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगका बिरामीहरुमा कडा ज्वरो आउने, ढाड दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिने गरेको सेती प्रादेशीक अस्पतालका डाक्टर शुषेषराज कायस्थले बताए।

उनले भने–‘यो रोगबाट बच्नका लागि दिउसोको समय लामखुट्टेको टोकाईबाट बच्ने, घरवरपरको पानी जम्ने खाल्डा खुल्डी पुरिदिने जस्ता सुरक्षाका उपाय अवलम्बन गर्नु पर्छ।’

डाक्टर कायस्थले थपे– ‘यो रोग मान्छेबाट मान्छमा सर्दैन, डेंगी रोगको संक्रमित ब्यक्तिमा एक हप्ता सम्म असाध्यै ज्वरो आउने गर्छ र ज्वरो आएको तेस्रो र चौथो दिन बिरामीका लागि क्रिटीकल अवस्था मानिन्छ।’

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्