पशुपतिमा आरतीअघि राष्ट्रगान बजाउन मन्त्री भट्टराईको आदेशबारे प्रधानमन्त्री ओली अनभिज्ञ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा गंगा आरती गर्नुपूर्व राष्ट्रगान बजाउनु पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आदेशबारे आफूलाई थाहा नभएको भन्दै पन्छिने प्रयास गरेका छन्।

मन्त्री भट्टराईको आदेशकाे सर्वत्र आलोचना भएपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुधबारको केन्द्रीय सचिवालय बैठकमा त्यसबारे उठेको प्रश्नको जवाफमा ओलीले पर्यटनमन्त्री भट्टराईको निर्णयमा आफ्नो कुनै भूमिका नरहेको र त्यसबारे अनभिज्ञ रहेको भन्दै विवादित निर्णयको स्वामित्व पर्यटन मन्त्री भट्टराई स्वयंले लिनुपर्ने संकेत गरेका छन्।

विज्ञापन

पार्टी उच्च स्रोतका अनुसार बैठकमा खासगरी पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले पारि शव जलाइरहेका बेला पीडामा छट्पटाइरहेकाहरु गंगा आरती गर्नुपूर्व राष्ट्रिय गीत बजाएपछि उठ्न मिल्छ? भन्दै प्रश्न गरेका थिए।

यस्तै श्रेष्ठले यस्ता विवादास्पद निणर्यले सरकारलाई धक्का पुग्छ भन्नेबारे सोच्नु पर्दैन भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए।

उनले आफूले पर्यटनमन्त्री भट्टराईलाई भेटेर यसबारे जानकारी गराउँदा पनि अहिलेसम्म मन्त्री भट्टराईले निर्णय फिर्ता नलिएको भन्दै आपत्ति जनाएका थिए।

प्रवक्ता श्रेष्ठको उक्त भनाइमा सचिवलायका ओलीबाहेक सबै सदस्यहरुले समर्थन जनाएपछि ओलीले प्रतिक्रिया स्वरुप त्यसबारे आफूलाई पूर्व जानकारी नगराएको बताएको स्रोतको भनाइ छ।

गत साउन १५ गते पर्यटन मन्त्रालय सम्हालेको केही दिनमै मन्त्री भट्टराईले गंगा आरतीको सुरुवात गर्नुपूर्व राष्ट्रगान बजाउन सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए।

तर त्यसको आलोचना र विरोध जनस्तरबाटै भएपछि यही सोमबारबाट गंगा आरती सेवा समितिले एकतर्फीरुपमा आरातीपूर्व राष्ट्रगान नबजाउने निर्णय गरेको थियो।

यस्तै बैठकमा चिनियाँ विदेशमन्त्रीको भ्रमणमा गरिएका सम्झौताले झन् नेपालको साख गिराएको भन्दै त्यस्तो सम्झौता गर्न नहुने विषय पनि उठेको छ। त्यो विषय उठाउने पनि श्रेष्ठ नै रहेको स्रोतको दावी छ।

आफ्ना राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारीबारे बुझ्न नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले ३५ करोड रुपैयाँमा मनाङमा अस्पताल निर्माण गरिदिने, पाँच हजार पाल उपलब्ध गराउने, चिनियाँ भाषाका लागि स्वय‌ंसेवक शिक्षक पठाउने लगायत घोषणा गरेका थिए।

श्रेष्ठले विदेश विभागीय प्रमुखहरुलाई सामेल नगराई अध्यक्ष दाहालले मन्त्री वाङलाई भेटेकोबारे पनि असन्तुष्ट जनाएको तर त्यसमा दाहाल मौन रहेको स्रोतले बतायो।

बैठकमा हालै पार्टीको तेस्रो नेताको हैसियत प्राप्त गरेका नेता झलनाथ खनालले प्रदेश २ को जिल्ला कमिटीलाई लिएर उत्पन्न विवाद सुल्झाउनुपर्ने माग राखेका थिए ।

तर अध्यक्ष प्रचण्डले त्यसबारे पछि छलफल गर्ने भनेपछि नेता माधव नेपाल त्यो समस्या तत्काल समधान गर्नुपर्ने र जथाभावी गर्न नपाइने भन्दै कड्किएका थिए।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू