नेकपा कार्यकर्ताकाे आक्रमणबाट बाँके कांग्रेस सभापति काेइरालाकाे हात भाँचियाे

नेपालगञ्ज– नेकपा सम्वद्ध युवाहरुले आक्रमण गर्दा नेपाली कांग्रेस, बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको छ।

बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा चलिरहेको जागरण अभियानमा नेकपा सम्बद्ध युवाहरु आएर बिथोल्ने र हातपात गर्दा कांग्रेस सभापति कोइरालाको बायाँ हात भाँचिएको कांग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणाले बताए।

‘हाम्रो कार्यक्रम चलिरहेको बेलामा गुण्डागर्दी शैलीमा आएका युवाहरुले आक्रमण गरे, त्यसक्रममा सभापति कोइरालाको हात भाँचियो, अरु केही घाइते भएका छन्’, उपसभापति राणाले भने, ‘उनीहरुले गरेको कामको विरोध गर्‍यो भन्दैमा आक्रमण गरियो।’

भदौ २४ गतेदेखि कांग्रेसको राष्ट्रिय जागरण अभियान चलिरहेको छ। त्यसक्रममा बिहीबार सीतापुरमा कार्यक्रम भएको थियो । रेडक्रसको हलमा भएको कार्यक्रममा नेकपा सम्बद्ध एक जत्था प्रवेश गरेर ज्यानै मार्ने गरी सांघातिक आक्रमण गरेको सभापति किरण कोइरालाले बताइन्।

कांग्रेस बाँकेका अनुसार, खजुरा वडा नं. १ का अध्यक्ष सुमन मल्लको निर्देशनमा ठूलाे जत्थामा युवाहरु आएर आक्रमण गरेका थिए।

ठूलो संख्यामा आएका युवाहरुले कार्यक्रम बिथोल्ने र सांघातिक आक्रमणको प्रयास गरेपछि प्रहरीलाई खबर गरिए पनि समयमा प्रहरी नआएको उपसभापति राणाले बताए ।

‘हामीले प्रहरीलाई खबर गरेको एक घण्टापछि एकजना असई मात्रै आए। उनले पनि केही गर्न सकेनन्’, उपसभापति राणाले भने, ‘प्रहरीको संरक्षणमै कांग्रेस नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने काम भयो।’

कांग्रेस बाँकेले नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीलाई कारबाही नभए कडाभन्दा कडा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले आक्रमणमा सहभागी युवाहरुलाई पक्राउ गर्न टोली खटाइसकेको जनाएको छ। जिप्रकाका प्रवक्ता डिएसपी शिव सिंहले आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको कमाण्डमा टोली पठाएको जानकारी दिए।

‘गलत काम गर्नेलाई हामीले छोड्दैनौँ, हामीले आक्रमणकारीलाई पक्राउ गर्न टोली पठाइसकेका छौँ। सबैलाई पक्राउ गरेर कारबाही गर्छौँ’, डिएसपी सिंहले भने।

नेकपाका बाँके अध्यक्ष आइपी खरेलले कांग्रेसको कार्यक्रम बिथोल्ने कुनै नीति रहेको बताए।  उनका अनुसार, अस्लम भाट नाम गरेका युवाहरुले केही दिनदेखि खजुरामा विभिन्न भिडियो बनाएर नेकपाका नेताको मानमार्दन गर्ने काम गरिरहेका थिए।

उसलाई कारबाही गर्न तीन दिनदेखि प्रहरीलाई भनिरहेको थियौँ। ऊ भागेर हिडिरहेको थियो। आज कांग्रेसको कार्यक्रममा मञ्चमा देखेपछि उसलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन युवाहरु जाँदा तानातान भएको थियो।

भदौ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्