हप्ताको एक–दुई पटक झकाउनु अति राम्रो, तर बारम्बार झकाए के होला?

दिउँसो बारम्बार झकाउनु समस्या भए पनि हप्ताको एक वा दुईपटक दिनको समयमा झकाउनु दीर्घ जीवनका लागि सहायक बन्ने देखिएको छ । स्वीट्जरल्याण्डमा भएको अनुसन्धानमा हप्ताको एक वा दुईपटक झकाउँदा मुटु सम्बन्धी रोगको समस्या कम गर्ने देखिएको हो ।

कहिले काहिँ झकाउँदा हृदयघात, स्ट्रोक तथा मुटु सम्बन्धी रोगहरुको जोखिम आधाले कम गर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । तर बारम्बार झकाउँदा यसले स्वास्थ्यमा कुनै मुनाफा नहुने जनाइएको छ ।

अनुसन्धानका प्रमुख अथर तथा स्वीट्जरल्याण्डको युनिभर्सिटी अफ लाउसानेबाट विद्यावारिधी गरिरहेका अनुसन्धानकर्ता नादिनी हाउस्लरले बताएका छन्, ‘बारम्बार झकाउनेहरुमा कार्डिओभास्कुलर डिजिजको समस्या बढाउने देखिएको छ । तर आकलझक्कल न्याप लिँदा या झकाउँदा सो समस्या कम हुने देखिएको छ ।’

झकाउँदा स्वास्थ्यलाई फाइदा हुन्छ या नोक्सानी भन्नेबारे विज्ञहरुबिच विवाद रहेको छ । तर सबैको एक मत धेरै झकाउनु राम्रो नरहेकोमा छ ।

पछिल्लो अध्ययनमा ३५ सयजना सहभागी थिए । उनीहरुको मुटु स्वास्थ्यको अवस्था पाँच वर्षसम्म हेरिएको हो । त्यसमा आकलझुकल झकाउनेहरुमा राम्रो प्रभाव देखिएको हो । तर अधिक झकाउनेहरुमा त्यसको प्रभाव नराम्रो रहेको देखिएको छ ।

हप्ताको एक–दुई पटक झकाउनेहरुमा अरुको तुलनामा हृदयघात, स्ट्रोक तथा मुटुसम्बन्धी रोगको जोखिम ४८ प्रतिशतले कम भएको देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्