आजकै दिन १३ सेप्टेम्बर १९५९ मा भएको थियो चन्द्र विजय

आज (शुक्रबार) १३ सेप्टेम्बर, यो दिन के का लागि प्रख्यात होला ? आजको दिन पृथ्वीका मानिसले मानवताको इतिहासमा एउटा स्वर्णिम अध्याय थपेका थिए ।

आजभन्दा ६० वर्ष अगाडि पृथ्वीबाट ११.२ किमिप्रति सेकेण्डको गतिले उडेर झण्डै ३८ घण्टे लामो यात्रा पश्चात रूसले प्रक्षेपण गरेको लूना–२ ले चन्द्रमामा पुग्ने सफलता पाएको थियो। पृथ्वी बाहेक सौर्यमण्डलका अन्य कुनै पिण्डमा मानिसले पठाए कुनै वस्तु पुगेको यो नै पहिलो घटना थियो ।

विज्ञापन

६० वर्ष पहिला मानिसले पृथ्वी र चन्द्रमा बीच रहेको ३ लाख ८४ हजार किमि दूरी पार गरेर चंद्र अवतरण गरेको थियो । यसपछि यो खगोलीय पिण्ड पृथ्वीको प्राकृतिक उपग्रह चन्द्रमा मानिसको पहुँचबाट धेरै टाढा रहन सकेन । अन्ततः यस घटनाको झण्डै दश वर्षे अंतराल भित्रै २० जुलाई १९६९ मा चंद्रयान ईगलु २ जना अमेरिकीलाइ लिएर चन्द्रमामा ओर्लियो । निल आर्मस्ट्रांग र एल्ड्रिन बजले चंद्र धरातलमा विहार गरेर मानिसको मनमा हजारौँ वर्षदेखि रहिआएको चन्द्रमामा पुग्ने चाहना पूरा गरे । त्यस पछि त अन्य १० जना अमेरिकी नागरिकले पनि चंद्र भ्रमण गरेर त्यहाँबाट ३०० किलोभन्दा बढी स्याम्पल नै पृथ्वीमा लिएर आए ।

एक तथ्यांक अनुसार अहिले चंद्र धरातलमा मानिसले छाडेका झण्डै ७५० विभिन्न वस्तु छरिएर रहेका छन् । अमेरिका बाहेक अन्य कुनै देशले चन्द्रमामा मानिस पठाउन नसके पनि मानवरहित यान भने पठाएका छन् । यस सूचिमा रूस, अमेरिका, चीन, जापान, यूरोपियन स्पेस एजेन्सी, इजरायल र भारतको नाम समावेश रहेको छ । तर चन्द्रमामा सफ्ट ल्यान्डिंग गर्ने श्रेय भने अमेरिका, रूस र चीन बाहेक कसैले प्राप्त गर्नसकेका छैनन् । यस वर्षको (२०१९) प्रारम्भमा इजरायलको यान चन्द्रमामा ल्याण्ड गर्नुभन्दा २० किमि पहिला र भर्खरै भारतले पठाएको यान ल्याण्ड गर्नु पूर्व २ किमि पहिला दुर्घटनाग्रस्त हुनपुगेका थिए ।

चन्द्रमामा पुग्ने पहिलो मानिसमा निल र बजको नाम आए जस्तै चन्द्रमामा पुग्ने पहिलो वस्तुमा लूना–२ यानको नाम आउँछ । चन्द्रमामा पठाइने कुनै पनि अभियान स्पेस मिसन अंतर्गत नै आउँछन् । पृथ्वीका मानिसको स्पेस यात्राको प्रारम्भ ४ अक्टूबर १९५७ मा भएको थियो । यस दिन स्पुतनिक–१ यान मार्फत रूस सबैभन्दा पहिला अंतरिक्षमा पुगेको थियो । अमेरिकालाइ भने यो उपलब्धी हाँसिल गर्न रूस पछि झण्डै ४ महिना लाग्यो । १ फेब्रुअरी १९५८ का दिन जुपिटर–सी राकेटबाट अमेरिका पहिलो पटक अंतरिक्षमा पुगेको थियो । तर अमेरिकनहरु स्पेसमा पुग्नुभन्दा पहिला ३ नोवेम्बर १९५७ मा रूस ले लाइका भन्ने कुकुर लाई स्पुतनिक–२ मार्फत अन्तरिक्षमा पठाइसकेको थियो । लाइकालाई अंतरिक्षमा पुग्ने पहिलो प्राणीको श्रेय प्राप्त छ, पृथ्वी बाहिर मृत्युवरण गर्ने पहिलो श्रेय पनि लाइकालाई नै प्राप्त छ ।

१२ अप्रिल १९६१ को दिन पनि रूस कै नाममा सुनका अक्षरले सुशोभित छ । यस दिन मानवताको इतिहासमा पहिलोपटक वोस्तोक–के राकेटबाट यूरी गागरिन पहिलो मानिसका रूपमा अंतरिक्षमा पुगेका थिए। अमेरिकाले यहाँ पनि रूससंग झण्डै तीन साताले मात खानु परयो । ५ मे १९६१ का दिन ुमक्र्युरी रेड स्टोनु रॉकेटबाट फ्रीडम–७ स्पेसक्राफ्टमा बसेर ऐलन शेपर्ड अंतरिक्षमा पुग्ने पहिलो अमेरिकन बने ।

अंतरिक्षमा पुगेर पृथ्वीको पहिलो परिक्रमा गर्ने श्रेय भने अमेरिकन नागरिक जॉन ग्लेनले पाए । २० फेब्रुअरी १९६२ का दिन ऐटलस राकेटबाट प्रक्षेपित फ्रेंडशिप–७ स्पेसक्राफ्रमा बसेर उनले अंतरिक्षको १६०८२६१ उचाईबाट २८२०० किमिप्रति घण्टाको वेगले झण्डै १२१७९४ किमि यात्रा गरे ।

तर के अंतरिक्षमा पुग्ने पहिलो वस्तु स्पुतनिक–१ थियो र ? ध्यान दिनु होला मैले वस्तु भनिरहेको छु । यसबारे चर्चा अर्को कुनै दिन गरौला । तपाईँलाई आश्चर्य लाग्ला, अन्तरिक्षमा पुग्ने पहिलो वस्तु राकेट नभएर अरु नै केही थियो । न उड्न सक्ने, न गुड्न सक्ने, के थियो त्यो वस्तु यसबारे चर्चा शीघ्र नै गर्नेछु ।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्