ईन्द्रजात्रामा राष्ट्रपति भण्डारीको विरोध गर्ने आशंकामा प्रहरीद्वारा पूर्व कर्नेल र डीआईजीसहित ५० भन्दा बढी पक्राउ

ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा सर्वसाधारणलाई प्रकाउ गर्दै प्रहरी। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौँ– ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले सेवा निवृत्त सेनाका कर्नेल र प्रहरीका डीआईजीसहित ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेको छ।

पक्राउ गरिएका अधिकांशलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भन्डारी आउने पूर्व निर्धारित तालिकालाई मध्यनजर गर्दै भष्ट्रचार विरोधी अभियान समूहको नेतृत्वमा दिउँसो १ बजे बसन्तपुरस्थित भुगोलपार्कमा कार्यक्रम आयोजना भएको थियो।

राष्ट्रपतिलाई कालोझन्डा देखाउने, विरोध प्रदर्शन गर्नेजस्ता गतिविधि हुन सक्ने देखिएको भन्दे पक्राउ गरिएको काठमाडौं परिसरका अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा नेपाल प्रहरीका निवृत डीआईजी विजय भट्ट र नेपाली सेनाका पूर्व कर्नेलसमेत रहेका छन्।

गुठी विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको मागप्रति उदासिनता देखाएकोमा राष्ट्रपतिको कार्यक्रममा विरोध जनाउन खोजिएको बुझिएको छ।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्