चीनले भारतीयलाई भिसा दिन बन्द गरेपछि मानसरोवर यात्राकाे सिजन सकियो

सिमकोट– यसपटक मानसरोवर कैलाशका लागि भारतीय धार्मिक पर्यटकहरु आउने कार्य बन्द भएको छ।

अन्य देश र एनआरआई पर्यटकहरुलाई मानसरोवर जाने भिसा दिने कार्य नरोकिए पनि गत वर्षको तुलनामा चिनियाँ सरकारले एक महिना अगाडिदेखि मानसरोवर कैलाश जाने भारतीय पर्यटकहरुलाई भिसा दिने कार्य बन्द गरेपछि सिजन सकिएको हो।

यसपटक सात हजार ७ सय ६१ जना भारतीय धार्मिक पर्यटकहरुले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका छन्।

यी भारतीय पर्यटकहरु हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गरेका हुन्। प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तीमगरका अनुसार यसमा चार हजार २ सय ६२ जना पुरुष र तीन हजार ४ सय ९९ जना महिलाहरुले मानसरोवर कैलाशको यात्रा गरेका छन्।

मानसरोवरको धार्मिक यात्रा गर्ने पर्यटकहरुको संख्या सबैभन्दा बढी जेठ महिनामा रहेको छ। जेठमा तीन हजार ३ सय २५ जनाले यात्रा गरेका छन् भने यो संख्या असारमा आएर एक हजार ८ सय ४८ मा झरेको छ।

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार साउनमा एक हजार ४ सय ६२ र भदौमा एक हजार २ सय ८८ जना भारतीयले मानसरोवर कैलाशको यात्रा गरेका छन्।

यस पटकको मानसरोवर कैलाशको सिजन गत जेठ ४ गतेबाट सुरु भएको थियो। विगत तीन वर्षलाई तुलना गर्दा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुको संख्या भने घट्दो क्रममा रहेको छ।

यसको मुख्य कारणका रुपमा भुकम्प गएपछिको पहिलो वर्ष मानसरोवर कैलाश जाने अन्य विकल्प नभएपछि सिमकोटबाट जाने संख्या बढी भए पनि त्यसपछि क्रमश: केरुङ र लासा नाकाबाट पनि जाने क्रम सुरु हुँदा सिमकोटबाट जानेको संख्या घट्दो क्रम रहेको छ।

समग्रमा नेपालबाट भने मानसरोवर कैलाश जाने भारतीय पर्यटकहरुको संख्या भने बढ्दो क्रममा रहेको छ।

गत वर्षभन्दा कम पर्यटक आए


सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने धार्मिक पर्यटकहरुको संख्या भने घटेको होटेल व्यवसायी मिम लामाले बताए।

गत वर्ष १० हजार आठ सय भारतीय पर्यटकहरुले सिमकोट हुँदै मानसरोवर कैलाशको यात्रा गरेका थिए। त्योभन्दा अघिल्लो वर्ष १२ हजार पाँच सय पर्यटकले सिमकोट हुँदै मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए।

सिमकोट नाकाका बारेमा प्रचार–प्रसार गर्नु आवश्यक रहेको व्यवसायी लामाले बताए।

एक रात सिमकोट बस्नुपर्ने नियम पूर्णरुपमा लागू


यस पटकको सिजन सुरु हुनुभन्दा अगाडी होटेल व्यवसायी संघको बैठकले नेपालगंजबाट सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकहरुले एक रात सिमकोट बस्नै पर्ने नियम बनाएको थियो।

उक्त नियम अधिकांश पर्यटकहरुले पालना गरेको हुम्ला रिसोर्ट एण्ड स्पाका म्यानेजर पेमा लामाले बताए।

कुनै–कुनै पर्यटकहरु मौसमको कारण हवाई यातायात नहुँदा समय सकिँदा भिसाको समय अभावले गर्दा एक रात सिमकोट नबसेको भए पनि अधिकांश भने बसेका थिए।

त्यस्ता पर्यटकहरु पनि मानसरोवर कैलाशको यात्रा गरी फर्कँदा एक रात बस्ने गरेका थिए। सिमकोटका पर्यटकीय होटेलहरुलाई एक जना पर्यटकले नाईट स्टे गरेको २ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन्।

हेलिकप्टर फिर्ता


गत वैशाख अन्तिम हप्ता सिमकोट विमानस्थलमा मानसरोवर कैलाश यात्रा गर्ने पर्यटकहरु हिल्सामा ओसार्नका लागि नाईट स्टे गर्दै आएका ६ वटा हेलिकोप्टर पनि फिर्ता भएका छन्।

भारतीयहरुको आगम सकिएसँगै हेलिकप्टर काठमाडौँ फिर्ता हुँदा सिमकोट विमानस्थलको चहलपहल पनि कम हुन थालेको छ।

बिहान ६ बजे देखि बेलुका साढे ६ बजेसम्म हिल्साका लागि हेलिकोप्टरहरुले उडान भर्दा विमानस्थलमा निक्कै चहलपहल हुने गरेको थियो। हिल्साका लागि हेलिकोप्टरहरुले दैनिक ८० भन्दा बढी उडान भर्ने गरेका थिए।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्