भारत र चीनसँगको सम्बन्ध समान स्तरमै छः परराष्ट्रमन्त्री ज्ञवाली

बुटवल– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको छवि विश्व समुदायमाझ नयाँ उचाईमा पुगेको दाबी गरेका छन्।

छिमेकी मुलुकहरुसँग असल छिमेकीको सम्बन्ध कायम गर्दै नेपालले आफ्नो छवि सुधार गर्दै गएको उनले बताए।

प्रेस संगठन नेपाल, रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले छिमेकी देशहरूसँगको सम्बन्ध गुणात्मक रूपमा अगाडि बढेको भन्दै अन्य देशहरूले पनि नेपालको भनाइ/आवाजलाई सुनुवाई गर्न थालेको बताए।

मुलुकले अब कहिल्यै पनि नाकाबन्दीको सामना गर्न नपर्ने दाबी गर्दै मन्त्री ज्ञवालीले नेपालको चीन र भारतसँगको सम्बन्ध समान स्तरमा रहेको बताए।

उनले भने ‘हामी असल छिमेकी सम्बन्ध निर्माण गरेर अगाडि बढेका छौँ। चीन र भारतसँग विकासमा हामी साझेदारी गरेर अगाडि बढ्छौँ। दुवै देशसँग हाम्रो आर्थिक साझेदारी रहन्छ।’

सरकार बढीभन्दा बढी अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेको बताए।

सरकारले केही गरेन भनेर निरास हुनुपर्ने अवस्था मुलुकमा नरहेको परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पारे। ‘राम्रा कामको प्रचार–प्रसार हुन नसक्दा केही धमिलो पानीमा मार्छा मार्न पल्केका तत्वले सरकारप्रति नकारात्मक प्रचार गरेको छ। तर, त्यस्तो अवस्था छैन’– मन्त्री ज्ञवालीले भने।

देशमा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हुनु सामान्य कुरा नभएको ज्ञवालीको भनाइ छ। ‘देशमा परिर्वतन भएका छन्। विकास भएको छ। समृद्धिको बाटो कोरिएको छ। यो सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्दा मुलुक अल्पविकसित देशबाट विकसित राष्ट्र बन्नेछ’, उनले भने, ‘हामी अब जनतासँग जोडिनको लागि नयाँ अभियानका साथ आउँदैछौँ। पार्टी र सरकारले गरेका काम जनतालाई स्पष्ट रुपमा बुझाउँछौँ।’

खुला सिमानाको दुरुपयोग भइरहेको भन्दै उनले नेपाल भारत सीमा व्यवस्थित गर्ने काम भइरहेको बताए। उनले भारततर्फका ८ हजार ५ सय ५७ पिल्लरहरु व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए।

भदौ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्