घरदेश र परदेशकाे पीडा बाेल्ने नाटक ‘टीका’

नाटकले धन कमाउन परदेश गएको छोरा फर्किने आसमा बसेकी बुढी आमा र उसको परिवारको कथा देखाउँछ । साथमा परदेशको पीडा र गाउँघरको माहोल ।

पिँढीमा बसेर औँला भाँच्दै गरेकी आमाले दसैँ आउने दिन गन्दै छिन्–दसैँ आउन ४० बाँकी छ । उनी दसैँ आउने दिन नातीलाई सम्झाउँदै छिन् ।

उता कमाउन भारत गएको छोरा घर जान बिदा पाउँछु कि पाउँदिन भन्दै साथीसँग दुखेसो गर्दै छिन् ।

गाउँघरमा दसैँको माहोलले छोइसक्यो । महिलाहरु मकै, गहँु बोकेर घट्टजाँदैछन् । तास, चंगा, पिङ्ग र लङगरगुर्जामा गाउँ रमेको छ । तर त्यहि गाउँको एउटा परिवार भने अनुहारको सिर्जित हाँसोमा पीडा लुकाएर दसैँ मानउने तयारी गर्दैछ ।

गाउँघरमा टीका लगाएर सबैले दसैँलाई स्वागत गरिसके तर बुढी आमा, बुहारी र नातीसँगै आफ्नो छोरो कमान सिंह आउँछ कि भन्दै बाटो हेरेर बसेकी छन् । साँझसम्म पनि टीका लगाएका छैनन् । उनको छोरा आउँछ कि आउँदैन ? ती बुढी आमाको परिवारले दसैँ मनाउँछ कि मनाउँदैन ? त्यसका लागि नाटक हेर्नुपर्ने हुन्छ ।

कथाको परिवेस केही पुरानो नेपाली समाजको हो तर यसले बोकेको सन्देशले हालको परिवेशलाई पनि समेट्छ । समयसँगै मानिस र समाजको भौतिक अवस्था त परिवर्तन भयो तर आए श्रोतका लागि विदेश जानु पर्ने बाध्यता अझै छ । पहिले भारत जाने धेरै हुन्थे अहिले अन्य देश । र सबैको एउटै भनाई–विदेश किन जान्छौ देशमै बस मिठो मसिनो खाएर ।’

स्वर्गीय भीमनिधि तिवारीको एकाङकी नाटक ‘टीका’ लाई निर्देशक संगीत सापकोटाले न्याय गरेर स्टेजमा उतारेका छन् । त्यतिकै न्याय कलाकारले पनि गरेका छन् आफ्नो भूमिकामा । नाटकको कुनै दृश्य अलि लामो लागे पनि पट्यार लाग्दा छैनन् । नाटकमा प्रयोग भएका संवाद र कलाकारको भूमिकाले दर्शकमा हाँसोको माहोल सिर्जना गर्छ । कति बेला भावुव बनाउँछ भने कतिबेला हाँसोको फोहोरा छुटाउँछ ।

गीत र संगीतबाट सुरु भएको नाटक त्यसैमा सकिन्छ । निर्देशक सापकोटाका नाटकको विशेषता नै हो नाटकमा धेरै भन्दा धेरै गीत र संगीतको प्रयोग । उनी आफू पनि संगीतकार हुन् र यो नाटकमा संगीत पनि उनैले दिएका छन् स्टेजको एउटा कुनामा बसेर । संगीत दिनुसँगै कुनामा बसेर पात्रसँगै उसको संवाद मनमनै भनिरहेका हुन्छन् ओठ मात्र चलाएर ।

सबल पक्ष

पात्रको संवाद र नाटकको उतारचढाव अनुसार बज्ने गीत र पाश्र्व संगीत गज्जबको सुनिन्छ । स्टेजमा लाइटको प्रयोग पनि राम्रो छ । निर्देशकले स्टेज पछाडिको भागलाई भरपुर प्रयोग गरेका छन् । टाढाबाट बोल्दाको आवाज र नजिकबाट बोल्दाको आवाज दर्शकले अनुभव गर्न सक्छन् ।

स्टेजमा देखाउन नसकिने दृश्यलाई लाइट र फरक प्रस्तुति मार्फत निर्देशकले कलात्मक रुपमा प्रस्तुत गरेका छन् । नाटकमा दसैँको बेला गाउँघरमा हुने हरेक दृश्यलाई समेटिएको छ । चाहे त्यो नाटकको दृश्यबाट होस वा पात्रको माध्यमबाट ।

पात्र

नाटकमा कमान सिंह (श्रवण राना मगर) को मूख्य भूमिका छ । रोजगारीको सिलसिलामा उनी भारत छन् । रोजगारीमा हुँदाको पीडा उनले बोलेका छन् । उनले डाएलग र अनुहारको भावबाट त्यसलाई न्याय दिएका छन् ।

पात्रमा सविन भट्टराई हाबी छन् सबैमा । उनी फरक फरक भूमिकामा पनि त्यतिकै फिट छन् । चाहे त्यो बाहुन भूमिकामा होस वा जुवाडेको । बुर्जा खेलाउनेको रोल उनको उर्जावान छ तर त्यसमा अभिनय कम छ । उनका संवादले नाटकमा उर्जा थप्छ ।

छोरा बनेका राजकमल फकिरले पनि आफ्नो भूमिका राम्रोसँग निभाएका छन् । उनी सानाछन् र घरमा सबैको प्यारा छन् । लाडे बनेर हजुरआमाको काखमा पल्टिँदा दर्शकले आफूले त्यसमा अनुभव गर्नसक्छन् ।

हजुरआमा बेनेकी विनिता गुरुङ पात्रमा फिट देखिन्छिन् । त्यस्तै न्हुँज महर्जन, दिपेश काफ्ले, शारदा अधिकारी, मणिराज पौडेललगायत कलाकारको अभिनयले पनि नाटकलाई बाधेर राखेको छ ।

नाटक अलि लामो भएको अनुभव हुन्छ । निर्देशक अल्मलिएको जस्तो देखिन्छ नाटक छोट्याउनमा । छोट्याउन खोज्दा नाटकको प्लट नमिल्न सक्थ्यो । तर नाटकको कुनै भाग छोट्याउन सकिन्थ्यो । मूख्य पात्रको भूमिका थोरै भएको अनुभव हुन्छ । पात्रहरुले बोल्ने संवादमा नयाँपन थप्न सकिन्थ्यो ।

दसैँको माहोल सुरुहुँदै छ र नाटकले पनि त्यहि बोल्छ । हाँसो, दुःख र खुशी अनि सन्देश बोकेको नाटक ‘टीका’ धेरै हदसम्म दर्शकलाई मनोरञ्जन दिन खरो उत्रेको छ ।

एक्य हेभेन अफ आर्टको प्रस्तुतिमा नाटक ‘टीका’ थापागाउँको कुञ्ज नाटक घरमा मञ्चन भइरहेको छ । भदौ ३१ गतेसम्म प्रदर्शन हुने नाटक ‘टीका’ बुधबार बाहेक हरेक दिन साँझ ५ः३० बजेदेखि कुञ्जमा सुरू हुन्छ । शनिबार भने १ बजे पनि प्रदर्शन हुने एक्य हेभेन अफ आर्टले जनाएको छ ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्