पुस्तक संवाद

पुस्तकबाटै संसार चिन्छन् अमर न्यौपाने

लेखक अमर न्यौपाने आख्यान विधामा विशेष रुपमा कलम चलाउँछन्। उनको जन्म २०३४ चैत १४ गते भएको हो। उनले नेपाली विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। सानैदेखि लेखक बन्न चाहन्थे उनी। एसएलसीपछि नै उनले लेख्न थालेका हुन्।

औपचारिक रुपमा उनी लेखक भएको २०६६ सालमा हो। यो वर्ष उनको पहिलो पुस्तक ‘पानीको घाम’ प्रकाशनमा आएको थियो। यसले पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्न सफल भयो।

विज्ञापन

रचना प्रकाशनको हिसाबले २०५२ सालमा पहिलोपल्ट चितवनको स्थानीय पत्रिकामा उनले लेखेको गीत छापिएको थियो। यस्तै उनी लिखित ‘सेतो धरती’ ले मदन पुरस्कार प्राप्त गरेको छ। यो २०६८ सालमा प्रकाशनमा आएको थियो।

उनको तेस्रो पुस्तक करोडौँ कस्तुरी २०७२ सालमा प्रकाशनमा आयो । यो पुस्तकले बेलायतबाट दिइने ‘अनेवा नक्षत्र पुरस्कार’ २०१५ प्राप्त गरेको छ।

यिनै लेखकद्वारा लिखित पुस्तक ‘गुलाबी उमेर’ यही भदौ २१ गते सार्वजनिक भएको छ। महिलाको किशोरावस्थाको बारेमा लेखिएको यो पुस्तकका लेखकले पढ्ने आफ्नो पढ्ने बानीबारे देश सञ्चारसँग कुराकानी गरेका छन्।

लेखक अमर न्यौपाने । तस्बिर : बर्षा शाह/देश सञ्चार

१. अहिले कुन पुस्तक पढ्दैहुनुहुन्छ ?

अहिले कुनै पनि पुस्तक पढ्न पाएको छैन। १५–२० दिन भयो मेरो नयाँ पुस्तक गुलाबी उमेर सार्वजनिक गर्ने तयारीमा थिएँ। भर्खरै सार्वजनिक भएको छ।

त्यो भन्दा अगाडि मैले योगमाया पढेँ, महेश थापाले लेख्नुभएको ‘मरिचिका’ कथासंग्रह पढेँ।

२. कुन समयमा पढ्नुहुन्छ ?

ठ्याक्कै पढ्ने भन्ने समय त हुँदैन, म जतिबेला पनि पढ्छु। कहिलेकाहिँ अबेलासम्म पढिन्छ, पढेर रात छिचोलेको पनि छु। बिहान, दिउँसो जतिबेला पनि पढ्छु। फुर्सद हुनासाथ म पढ्न थाल्छु। मलाई साँझ फुर्सद हुन्छ।

३. कस्तो खालको पुस्तक/लेख मन पर्छ ?

फिक्सन, नन–फिक्सन दुवै मन पर्छ । मलाई संस्कृति सम्बन्धी किताब पनि त्यत्तिकै मन पर्छ। कविता, निबन्ध पनि पढ्छु। धेरै संस्कृति सम्बन्धि किताब पढ्नुको कारण के हो भने, यसले मलाई लेख्न सहयोग गर्छ, म पनि संस्कृति सम्बन्धी किताब लेख्न रुचाउँछु।

४. मन पर्ने लेखक को हुनुहुन्छ ?

मलाई मनपर्ने धेरै लेखकहरु हुनुहुन्छ, जस्तै यहाँको कुरा गर्दा विशेश्वरप्रसाद कोइराला। उहाँ मेरो एकदमै मन पर्ने लेखक हुनुहुन्छ, उहाँको कथा संग्रहहरु मलाई सारै मन पर्छ। ‘सुम्निमा’ अनि डायमन शमशेरको पुस्तकहरु पनि मलाई सारै राम्रो लाग्छ।

त्यसपछिको पुस्तामा आउँदा नयनराज पाण्डे, बुद्धिसागर, कृष्ण धरावासी, ध्रुवचन्द्र गौतम लगायत थुप्रै हुनुहुन्छ मलाई मन पर्ने। रामलाल जोशीको लेख पनि मन पर्छ।

विदेशी लेखकहरुमा मलाई एकदमै मन परेको ‘चेखोभका कथाहरु’ हुन् । हामी भर्खर इन्टर मिडियट आउँदाखेरी लियो टल्सटाय, ओ हेनरीको कथाहरु एकदम मन परेको थियो। पछि भएपछि अर्नेस्ट हेमिंग्वे, समरसेटको एकदमै मन पर्छ।

५. पढ्ने वातावरण कसरी बन्यो ? प्रेरणा कसरी मिल्थ्यो ?

यो सबै अन्तर प्रेरणाको कुरा रहेछ। पढ्नलाई सबैभन्दा पहिला आफ्नै मनले प्रेरित गर्नुपर्छ। यसमा बाहिरी वातावरणको भन्दा पनि भित्री आफ्नो अन्तस्करणले आफूलाई पढ्न प्रेरित गर्नुपर्छ।

मेरो घरमा बाबाले एकदमै धेरै ‘एक्स्ट्रा’ किताब पढ्नुहुन्थ्यो। बाबाले आफूले पढेको किताब चाबी लगाएर दराजमा राख्नुहुन्थ्यो । चाबी बाको जनैमा हुन्थ्यो। मेरो बाले कहिले पनि बाहिरको किताब पढ् भन्नु भएन। त्यो बेला म १४–१५ वर्षको थिए होला। मेरा बा विशेषगरी डायमन शमशेरको फ्यान हुन्, उहाँले लेख्नुभएको सबै किताब घरमा थियो।

अनि मैले ‘पढ्छु’ भन्दा पनि बाले दिनुहुन्थेन। बाले कुन किताब पढिराख्नुभएको छ भनेर उत्सुक हुन्थेँ। अनि म चाहिँ बाले पढिरहेको बेलामा लुकी लुकी त्यो किताब पढ्थेँ। किनभने पढिरहेको किताब बाको सिरानमुनि हुन्थ्यो।

मैले बसन्ती र सेतो बाघ त्यसैगरी पढेको हुँ, जब बाले मैले चोरी चोरी पढेको थाहा पाउनुभयो, आइन्दा नपढ भन्नुभयो। त्यसले मलाई झन् उत्सुकता हुन्थ्यो, बरु पढ् भनेको भए पढ्न मन लाग्ने थिएन होला। मलाई लाग्थ्यो, ‘मैले पढ्न हुन्न भनेपछि यसमा पक्कै केही कुरा छ।’

बाले मलाई जहिले बोर लाग्ने कुरा मात्रै पढ्न भन्नुहुन्थ्यो । विद्यालयको कोर्सबुक पढ्न मलाई झ्याउ लाग्थ्यो, तर बाले नपढ् भनेका पुस्तकहरु सारै ‘चाखलाग्दा हुने रहेछन्।’

६. पढेको कुनै लेख तथा कथा, उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ ?

किताब पढ्नु भनेको खासमा ऐना हेर्नु जस्तै हो। ऐना मान्छेले आफूलाई देखेर हेर्छ। हामीलाई ऐना जति हेरेपनि बोर लाग्दैन, किनभने हामीले त्यसमा आफूले आफूलाई पाउँछौँ। किताब भनेको मनको ऐना हो, जीवनको ऐना हो।

कथाहरुमा मेरो विचार पाउँछु, जस्तै सुम्निमा उपन्यासमा ‘आत्मा र शरीर’ को बारेमा बहस छ। शोमदत्त आत्माको पक्षमा हुन्छ र सुम्निमा शरीरको। शोमदत्तले ‘हामी आत्माको पछि लाग्नुपर्छ भन्छ।

शरीर भनेको पाप हो, यो क्षणिक हो, यो नष्ट भएर जान्छ आत्मा सधैँ रहीरहन्छ, अभिनाशी छ त्यसैले हामी आत्माको पछि लाग्नुपर्छ।’ भन्छ तर सुम्निमा ‘आत्माभन्दा शरीर ठूलो हो, किनभने आत्मा तिमिले जोगाए पनि, नजोगाए पनि, माया गरेपनि माया नगरेपनि सधैँ रहिरहन्छ, बाँचिरहन्छ। तर शरीर त रहँदैन नि त। यस्तो दिन आउँछ, जब मानिस चाहेर पनि स्थीर राख्न सक्दैन, बुढ्यौली रोक्न सक्दैन। त्यसैले जोगाउनु पर्ने छ शरीर हो, त्यसैले हामी शरीरको पछि लाग्नुपर्छ’ भन्छ।

मेरो विचार सुम्निमासँग मिल्छ, त्यसैले किताब भनेको विचार र भावनाको ऐना हो। आफ्नो विचार त्यहाँ पाएपछि हामीलाई त्यो पुस्तक मन पर्छ।

७. मन परेको किताब कुन हो ?

खलिल जिब्रानको ‘द प्रोफेट’ भन्ने किताब एकदमै मन परेको हो। त्यो पुस्तक अहिले पनि मेरो सिरानीमा छ। अर्को मन पर्ने किताब ‘सुम्निमा’, हर्नेस हेसको पुस्तक ‘सिद्धार्थ’ मेरो जीवन मोडेको पुस्तक हो। अनि मलाई सबैभन्दा मन पर्ने पुस्तक भनेको ‘महाभारत’ हो। त्यसको कुनै अरु पुस्तकसँग तुलना हुन सक्दैन।

८. पुस्तक दोहोर्याएर पढ्ने बानी छ ?

छ, एकपल्ट पढेर किताबको एक पत्र मात्र बुझिन्छ। मान्छे जस्तै त हो नि, एकपल्ट भेटेर मान्छेलाई कति चिनिन्छ र ? दोस्रोपल्ट, तेस्रोपल्ट भेट्यो समय बितायो अनि पो त्यो मान्छेको बारेमा जानिन्छ। यस्तै किताब पनि म बारम्बार पढेपछि मात्र सन्तुष्ट हुन्छु। जस्तै लेबनानका प्रख्यात लेखक खलिल जिब्रानको पुस्तक मैले धेरैपल्ट पढेको छु। उहाँ पेन्टर पनि हुनुहुन्छ। दार्शनिक लेखक हुनुहुन्छ।

मैले किताब पढ्दा सबैभन्दा ख्याल राख्ने कुरा भनेको त्यसको साहित्य र शैली हो । लेखकको लेख्ने कलालाई ख्याल गर्छु। कसरी उसले शब्द खेलाएको छ। कसरी प्रस्तुत गरेको छ, त्यसको उक्ति विचित्रताका लागि पढ्छु। साधारण कुरालाई कति विचित्रताका साथ प्रस्तुत गरेको छ, त्यो अनौठोपन पढ्न मन लाग्छ।

साधारण कुरालाई मिठो तरिकाले भन्यो भने, त्यसले हाम्रो हृदयको तार बजाउँछ। त्यो मलाई सारै मन पर्ने कुरा हो।

९. पढ्नै पर्ने पुस्तकहरु ?

पढ्नै पर्ने पुस्तकहरुमा संस्कृतिसम्बन्धी पुस्तक पर्छन्। यसमा धेरै पुस्तकहरु छन्। संस्कृति र सामाजशास्त्र सम्बन्धी पुस्तकले हामी साहित्यकारलाई समाज बुझ्न एकदमै सहयोग गर्छ। मलाई लेख्न मन पर्ने कुरा चाहिँ समाज भित्र छिरेर मान्छे, मान्छे भित्र छिरेर मान्छेको मन, मनोवृति लेख्न मनपर्छ, मनको खेल लेख्न मन पर्छ। मान्छे संसरको सबैभन्दा ‘कम्प्लिकेटेड’ प्राणी हो। पशु, पक्षी, रुख सरल हुन्छन्।

पुराण, इतिहास र संस्कृति सम्बन्धी पुस्तकहरु नै हुन्, मलाई प्रेरित गर्ने पुस्तकहरु। साहित्यले कोमल ढंगले समाज बुझ्न सिकाउँछ। सांकेतिक तरिकाले समाज बुझाउँछ। अरु पुस्तकले कठोर ढंगबाट समाज बुझ्न सिकाउँछ।

१०. पढ्ने वातावरण कस्तो हुनुपर्छ ?

पहिला त म पढ्छु भन्ने मनमा हुनुपर्छ। यसको लागि पढ्ने समय छुट्याउन जरुरी छ। हामीलाई मान्छेलाई पढ्नु छ भने हामी गल्ली भिडमा पढ्न सक्छौँ। तर किताब पढ्नको लागि भिडमा गाह्रो हुन्छ। एकाग्रतालाई भंग गर्दिन्छ।

कोही जागिरे होला, पढाई होला उहाँहरुले पहिला फुर्सद निकाल्नु पर्छ। घरमा पनि हुन्छ, साना बालबच्चा होलान्, कोही काँधमा आएर बस्छन्, काँधमा चढ्लान यसले पढ्न पाइदैन। पढ्ने वातावरण आफैले मिलाउने हो।

सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

 

(देश सञ्चारमा हरेक शनिबार पुस्तक संवाद प्रस्तुत हुन्छ । यसमा पुस्तकमा लगाव भएकाहरुसँग पढ्ने आनीबानी बारे कुराकानी गरिन्छ ।)


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू