शीर्ष २० मा परेनन् एशियाका विश्वविद्यालयहरु

उत्कृष्ट विश्वविद्यालयमा फेरि अक्सफोर्ड, त्रिभुवन विश्वविद्यालय १३६० नम्बरमा

यूनिवर्सिटी अफ अक्सफोर्ड- इङ्ग्लैंड

कुनै पनि देशको सबैखाले प्रगतिमा शिक्षाको पहिलो एवं महत्वपूर्ण स्थान हुन्छ। शिक्षाको अर्थ जेनतेन सर्टिफिकेट हासिल गरेर आजीविका कमाउनु मात्रै भएको भए कुनै पनि देश कोहीभन्दा कम हुने थिएनन्। तर, शिक्षाको अर्थ योभन्दा  व्यापक छ, विशाल छ। जीवनका सबै क्षेत्रको नेतृत्व नै शिक्षाले गर्छ। अक्सफोर्ड, हार्भर्ड, कालटेक क्याम्ब्रिज ,स्ट्यान्डफोर्डजस्ता नाम र आधुनिक मन्दिर त्यसै विश्वविख्यात भएका होइनन्। यी शिक्षाका ती मन्दिर हुन् जहाँका विद्यार्थीले संसारलाई डोर्‍याउने काम गरेका छन्।

क्यालिफ़ोर्निया इंस्टीट्यूट ऑफ़ टेक्नोलॉजी -अमेरिका

भर्खरै र्‍यान्किङ टाइम्स हायर एजुकेसन’ले विश्वका विश्वविधालयको २०२० को र्‍यान्किङ प्रकाशित गरेको छ। यस र्‍यान्किङमा इङ्ल्यान्डको ‘यूनिवर्सिटी अफ अक्सफोर्ड’ले पहिलो स्थान प्राप्त गरेको छ। विगत ४ वर्षले यो युनिवर्सिटीले पहिलो स्थान हासिल गर्दै आएको हो।

नेपालको विश्वविधालयको  कुरा छाडौँ, टप २५ भित्रका यूनिवर्सिटीमा एशिया महादेशका जम्मा तीनवटा विश्वविधालयले स्थान पाउन  सकेका छन्।

झण्डै ४ दशमलभ ५४ अर्ब  मानिस बसोबास गर्ने, भनौँ विश्वको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या निवास गर्ने क्षेत्रबाट टप २५ मा जम्मा ३ वटा यूनिवर्सिटी!  विश्वको कुल जनसँख्याको १७ प्रतिशत जनसंख्या भएको छिमेकी मुलुक भारतको कुनै पनि शैक्षिक संस्थान टप ३०० भित्र पनि नपर्नुले त्यहाँको शिक्षा स्तर प्रदर्शित गर्छ।

युनिवर्सिटी अफ क्याम्ब्रिज – इङ्ल्यान्ड

र्‍यान्किङ निर्धारणमा ९२ देशका १३९६ यूनिवर्सिटी संलग्न थिए। यूनिवर्सिटीको शैक्षिक स्तर र प्रदर्शन लगायत अन्य कैयौँ मापदण्डले टप यूनिवर्सिटीको लिस्ट तयार पारिएको हो। टप १५ मा इङ्ग्लैन्डका ४ र अमेरिकाका १० युनिभर्सिटी छन्।  स्विजरल्याण्डको ‘इटीएच ज्यूरिच’ले  १४ ओँ स्थान पाएको छ। १८ ओँ स्थानमा युनिवर्सिटी अफ टोरन्टो, क्यानाडा छ। २३ ओँ  र २४ ओँ नम्बरमा एशियाले प्रवेश गरेको छ। २३ ओँ नम्बर‍मा चीनको सिन्हुआ यूनिवर्सिटी (Tsinghua  University) र २४ ओँ नम्बरमा चीनकै पेकिङ युनिवर्सिटी छ।

हावर्ड यूनिवर्सिटी -अमेरिका

सिंगापुरको ‘नेशनल युनिवर्सिटीअ अफ सिंगापुर’ले २५ औँ  स्थान पाएको छ। टप २५ भित्र २१  स्थान इङ्ल्यान्ड र अमेरिकाका युनिवर्सिटीले पाएका छन‍्।

जर्मनीको एलएमयू, म्यूनिख ३२ औँ स्थानमा, अस्ट्रेलियाको  ‘युनिवर्सिटी अफ मेलबर्न’ ३३ औँ स्थानमा छन्।

३५ औँ नम्बरमा पुनः एशियाको प्रवेश भएको छ,’यूनिवर्सिटी अफ हङकङले’ ले ३५ औँ स्थान, ‘युनिवर्सिटी अफ टोकियो’ ले ३६ औँ स्थान पाएका छन्। दक्षिण कोरियाको ‘सियोल युनिवर्सिटी’ ले ६४ औँ स्थान र चीनको ‘युनिवर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ ले ८० औँ स्थान हासिल गरेका छन्।

र्‍यान्किङ लिस्टमा भारतको प्रवेश भने ३१३ औँ स्थानमा भएको छ। ‘इन्डियन इन्स्टिट्यूट अफ साइन्स’ ले ३१३ औँ स्थान हासिल गरेको छ। यसैगरी ‘इन्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजी’ ले ३१४ औँ स्थान’, बनारस हिन्दु यूनिवर्सिटी’ ले ६१३ औँ स्थान र भारतको बहुचर्चित ‘जवाहरलाल नेहरू यूनिवर्सिटी’ ले ६८० औँ स्थान पाएको छ।

नेपालको ‘त्रिभुवन यूनिवर्सिटी’  को नाम यस लिस्टमा १३६० औँ नम्बरमा छ। जम्मा १३९६ युनिवर्सिटी समावेश रहेको यस र्‍यान्किङ लिस्टमा ५६ पेज छन्, नेपालको त्रिभुवन युनिवर्सिटीको नाम ५५ औँ पेजको मध्यमा छ।

त्रिभुवन विश्वविद्यालय – कीर्तिपु

र्‍यान्किङ टाइम्स हायर एजुकेसनले जानकारी गराएअनुसार त्रिभुवन यूनिवर्सिटी अन्तर्गत विद्यार्थी संख्या ४ लाख, १८ हजार ५३ छ। यस युनिवर्सिटीमा प्रतिप्राध्यापक विद्यार्थी संख्या ३६ छ।इन्टरनेश्नल स्टूडेन्ट संख्या जिरो प्रतिशत  छ। महिला र  पुरुष विद्यार्थीको अनुपात ४५/५५ रहेको छ।

विश्वका टप १५ युनिवर्सिटी यस बमोजिम छन् –
१- यूनिवर्सिटी अफ अक्सफोर्ड- इङ्ग्लैंड
२- क्यालिफोर्निया इन्स्टिट्यूट अफ टेक्नोलोजी- अमेरिका
३- यूनिवर्सिटी अफ़ क्याम्ब्रिज- इङ्ग्लैंड
४- स्ट्यान्डफोर्ड यूनिवर्सिटी- अमेरिका
५- म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजी,अमेरिका
६- प्रिंसटन यूनिवर्सिटी,अमेरिका
७- हावर्ड यूनिवर्सिटी- अमेरिका
८- येल यूनिवर्सिटी- अमेरिका
९- यूनिवर्सिटी अफ शिकागो- अमेरिका
१०- इम्पीरियल कलेज अफ लण्डन, इङ्ग्लैंड
११- यूनिवर्सिटी अफ पेन्सलभानिया, अमेरिका
१२-जन हपकिन्स  यूनिवर्सिटी- अमेरिका
१३- यूनिवर्सिटी अफ क्यालिफोर्निया, बर्कले- अमेरिका
१४- इटीएच ज्यूरिच- स्विजटरल्याण्ड
१५- यूसिएल – इङ्ल्यान्ड

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्