गण्डकी माविका पूर्वविद्यार्थीले गरे निःशुल्क स्वास्थ्य शिविर

मुस्ताङ, गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्वविद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेका छन्।

शिविरमा विभिन्न रोगका झण्डै एक हजार जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो।

क्याम्प संयोजक डा. दिपक मल्लले गरेका छन्। उनका अनुसार २६ जना विशेषज्ञ चिकित्सकको टोलीले मुटु, दम, क्यान्सर, नाक, कान घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिशाब, स्त्री तथा प्रसूति र थायोराइडजस्ता रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा ‘माइनर’ शल्यक्रियासमेत गरिएको थियो। शिविरमा आएका सबैको अनिवार्य रगत र पिसाब परीक्षण, भिडियो एक्स रे, दमको रोगको उपचार गरिएको थियो।

यो शिविरको उदघाटन गण्डकी स्कुलका पूर्वविद्यार्थी एवं प्रदेश–४ का सांसद प्रेमप्रसाद तुलाचनले गरे। तुलाचनले शिवीर आयोजकको प्रशंसा गरे।

गण्डकी आवासीय माविको पूर्वविद्यार्थीहरुको संगठनकी अध्यक्ष डा. सुजिता हिराचनले आगामी दिनमा समेत यस्ता रचनात्मक र समाजलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम गरिने जानकारी दिइन् । शिविरका लागि आवश्यक रकम पूर्वविद्यार्थी तथा हाल उनीहरु कार्यरत संघसंस्था तथा कार्यालयहरुबाट संकलन गरिएको थियो ।

कार्यक्रममा मुस्ताङका सहकाय प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सामाजिक अगुवा तथा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता थियो ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्