साँफे– मार्तडी सडक अवरुद्ध

साङ्केतिक तस्बिर

जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ । शुक्रबार राति आएको पहिरोलाई आज बिहान हटाइए पनि मध्यान्ह पुनः ठूलो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अम्कोटमा आज बिहान आएको पहिरो पन्छ्याएको भए पनि एकैचोटी ठूलो पहिरो आएकाले जेसिवीले सम्भव नभएको निमित्त प्रहरी प्रमुख ढुङ्गानाको भनाइ छ । सडकको माथिबाट लगातार पहिरो खस्ने कार्य नरोकिएकाले आजै सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभयो ।

पानीको अवस्था र पहिरो खस्ने कार्य रोकिएपछि मात्र आइतबार सडक मर्मत गरी पुनः सञ्चालन हुने बताइएको छ । भारी वर्षाका कारण सडकमा पटकपटक पहिरो जान थालेपछि यात्रुहरुलाई सास्ती भोग्नुपरेको छ । सडक अवरुद्ध भएको बहाना देखाउँदै यातायात व्यवसायीले चर्को भाँडा असुल्ने गरेका छन् ।

यस राजमार्गमा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधनसमेत सञ्चालनमा अवरोध पुगेको यातायात व्यवसायी देवेन्द्र नाथले बताउनुभयो । बाटो खुलाउनका लागि निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानासहितको टोली खटिरहेको छ ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्