जिउँदै गाड्न पठाएको बच्चाको मृत्यु, छानबिन समिति गठन

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले जिउँदै गाड्न पठाएको बच्चाको मृत्यु भएको छ । जन्मिएको केही समयसम्म चालचुल नगरेपछि अस्पतालले शुक्रबार बच्चालाई मृत्यु भएको ठानेर सद्गतका लागि अभिभावकको जिम्मा लगाएको थियो । अभिभावकले घाटमा लगेर खाल्टो खन्ने बेलामा बच्चा चलेपछि पुनः अस्पताल ल्याएर उपचार थालिएको थियो । त्यो बच्चाको शनिबार बिहान पौने ५ बजे मृत्यु भएको छ ।

बच्चाको मृत्यु भएपछि अभिभावकले शनिबार दिनभरी शव उठाएनन्। अस्पताल प्रशासन र अभिभावक बीचको वार्ताले अपरान्ह सहमति कायम भयो। पाँच सदस्यीय छानबिन समिति गर्ने र त्यसको प्रतिवेदनका आधारमा क्षतिपूर्तिको पहल गर्ने, क्रिया खर्च २५ हजार दिने, आमालाई घरसम्म (जाजरकोट) पुर्‍याइदिने, अस्पतालमा लागेको उपचार खर्च व्यहोरिदिने सहमति भएको छ । सहमति पछि पीडित पक्षले शव बुझेका छन् ।

विज्ञापन

अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) बद्री चापागाईले आगामी दिनमा यस्तो घटना नदोहोरियोस् भनेर छानबिन समिति गठन गरेको बताए । उनका अनुसार, छानबिन समितिले प्रतिवेदन बुझाएपछि क्षतिपूर्तिका लागि क्षतिपूर्ति समितिमा पेश गरिने छ ।

जाजरकोटकी कमला अधिकारीले शुक्रबार बिहान पौने ६ बजे जन्माएको बच्चा धेरैबेरसम्म नचलेपछि अस्पतालकी नर्सले मृृत रहेको भन्दै सद्गतका लागि बुवा मिलन अधिकारीको जिम्मा लगाइकी थिइन् । प्लाष्टिकमा प्याक गरेर घाटमा पुगेका अधिकारीले खाल्टो बनेपछि बच्चा चलेको थाहा पाएपछि पुनः अस्पताल ल्याएर उपचार गराएका थिए । बच्चालाई सद्गत गर्न अस्पतालले नै व्यवस्था गरिदिने व्यक्तिलाई दिने एक हजार पाँच सय दिन नसक्दा मिलन आफैले बच्चालाई सद्गत गर्न गएका थिए ।

बच्चालाई पुनः अस्पताल ल्याएर आइसीयूमा राखेपछि नै आक्रोशित अभिभावकले शनिबार बिहान बच्चाको मृत्यु भएपछि शव बुझेका थिएनन् । अस्पतालले जिल्ला प्रशासन, वार एशोसियसन, नर्सिङका प्रतिनिधिसहित अस्पतालका डा. कल्पना थापा र कुलदीप गोइतलाई समितिमा राखेको छ ।

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्