एक घण्टा ढिलो आएको भन्दै नेपालगन्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि ‘हप्कीदप्की’

नेपालगञ्‍ज- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्ध एयरको विमानलाई एक घण्टा होल्ड गराएको भन्दै नेपालगञ्‍ज विमानस्थलमा युवाहरुले उनमाथि आक्रोश पोखेका छन्। उनी निर्धारित समयभन्दा ढिलो आएको र आम नागरिकको समयलाई बेवास्ता गरेको प्रति विमानभित्रै युवाहरुले आक्रोश पोखेको भिडियो सार्वजनकि भएकाे हो।

उनीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। यता, मन्त्री भट्टराईले आफू प्लेन चढ्न ढिला भएकोप्रति सामाजिक सञ्‍जालमा क्षमायाचना गरेका छन्।

विज्ञापन

उनको भिडियो खिच्‍ने युट्युबमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको बताइएको छ। भिडियोमा संस्कृतिमन्त्री भएर संस्कार नै नभएको भन्दै युवाहरुले मन्त्रीलाई हप्कीदप्की गरेको देख्न सकिन्छ।

भिडियोमा भनिएको छ, ‘हामी तपाईँलाई सम्मान गर्छौं। तर एक घण्टा ढिला किन आउनुभयो। संस्कृति मन्त्रीको संस्कार नै छैन।’ यस्तै ज्ञानेन्द्र शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न धनगढी हुँदै बाँके पुगेका थिए। कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौँ फर्किएका छन् ।

शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन् –

‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’

यता, मन्त्री भट्टराईले फेसबुकमार्फत भनेका छन्, ‘क्षमाप्रार्थी छु’

‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो। भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु।’

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु।’

भदौ २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्