टोटनह्यामको शानदार जित, म्यानचेस्टर युनाइटेड पनि विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले क्रिष्टल प्यालेसलाई ४–० ले पराजित गरेको हो ।
उसले चारै गोल पहिलो हाफमै गरेको हो । उसका लागि सन हेङ–मिले दुई तथा एरिक लामेलाले एक गोल गरे । क्रिष्टल प्यालेसका प्याट्रिक भान एनहोल्टले आत्मघाती गोल गरे ।
१० औँ मिनेटमा सनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा प्याट्रिकले आत्मघाती गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि सनले व्यक्तिगत दोस्रो गोल गरे । ४२ औँ मिनेटमा लामेलाले गोल गरेपछि पहिलो हाफमै टोटनह्यामले ४–० को अग्रता लियो ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र टोटनह्याम विजयी भयो । जितपछि पाँच खेलबाट ८ अंक जोडेको टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड पनि विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा आठौँ मिनेटमा पाएको पेनाल्टीमा मार्कश राशफोर्डले गोल गरे । चौथो स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको पनि अंक नै भएको छ ।
यस्तै अर्को खेलमा चेल्सीले वुल्भ्सलाई ५–२ ले पराजित गरेको छ । ८ अंक नै भएको चेल्सी छैटौँ स्थानमा छ । ८ अंक नै रहेको लेस्टर पाँचौँ स्थानमा रहेको छ ।
शनिबार राति भएका अरु खेलमा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ भने ब्राइटन र बर्नलीले १–१ को बराबरी खेलेका छन् ।