नेइमार विरुद्ध हल्लाखल्ला, तर उनकै गोलमा पिएसजी विजयी

बार्सिलोना फर्किने लामो तर असफल प्रक्रियापछि नेइमार अन्ततः पेरिस सेन्ट–जर्मेन (पिएसजी) को जर्सीमा मैदान फर्किएका छन् । उनी फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीको टिममा थिए ।

उनलाई पिएसजीका समर्थकले नै अस्वीकार गरेको संकेतमा हल्लाखल्ला मच्चाए, उनी विरुद्ध नाराबाजी गरे । तर नेइमारले आफ्नो खेलको लय छोडेनन् र गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा पिएसजी स्ट्रासबर्गमाथि १–० को जित निकाल्न सफल भयो । पिएसजीको जितका लागि नेइमारले इन्जुरी समयमा गोल गरेका हुन् ।

उनले ओभरहेड किक मार्फत गोल गरेका हुन् । बार्सिलोना फर्किने प्रयासमा नेइमारले लिगका सुरुका चार खेल गुमाएका थिए । यो सिजन उनको लिगमा पहिलो खेल हो र उनले पहिलो खेलमै गोल गरे ।

खेलपछि नेइमारले आफूविरुद्ध भएको हल्लाखल्ला नौलो नरहेको बताएका छन् । आफू अधिकांश समय यस्तो परिवेशबाट गुज्रिने गरेको र आफ्ना लागि घरेलु मैदानमै हुने प्रायः खेलहरु अवे मैदानको जस्तो हुने उनले बताएका छन् ।

खेल सुरुहुनु पूर्व नेइमारलको नाम लिँदा, नेइमाले पहिलो पटक बल छुँदा, उनले कर्नर प्रहार गर्दा र उनको प्रहार बाहिर जाँदा पिएसजीका समर्थकले हल्लाखल्ला गरे ।

तर उनले गोल गर्दा केहीले खुशीयाली मनाए भने केहीले हल्लाखल्ला गरेका थिए । जितपछि शीर्ष स्थानको पिएसजीको पाँच खेलबाट १२ अंक भएको छ ।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्