बार्सिलोनाको शानदार जित, १६ वर्षे खेलाडीले गरे दोस्रो मिनेटमै गोल

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–२ को शानदार जित दर्ता गरेको हो ।

बार्सिलोनाको जितमा एन्सु फाती, फ्रेन्की डी जोङ्ग र जेरार्ड पिकेले एक एक गोल गरे भने लुइस स्वारेजले दुई गोल गरे । भ्यालेन्सियाका लागि केविन गामेइरो र म्याक्सी गोमेजले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै १६ वर्षका फातीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । उनी बार्सिलोनाबाट पहिलो पटक ला लिगामा खेलको सुरुदेखि नै प्रतिस्पर्धामा सहभागी भएका हुन् । उनले पहिलो खेलमै गोल गरेका छन् ।

यसअघि उनी ओसासुनासँग २–२ को बराबरी भएको खेलमा थप खेलाडीको रुपमा आएर गोल गरेका थिए । गएको महिना ला लिगामा पहिलो गोल गरेका उनी बार्सिलानाका लागि ला लिगामा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए ।

फातीले गोल गरेको पाँच मिनेटपछि डी जोङ्गले गोल गरे । २७ औँ मिनेटमा गामेइरोले भ्यालेन्सियाका लागि एक गोल फर्काए । ५१ औँ मिनेटमा पिके तथा स्वारेजले ६१ र ८२ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले ५–१ को अग्रता लियो । तर भ्यालेन्सियाका लागि गोमेजले इन्जुरी समयको दोस्रो मिनेटमा थप एक गोल गरेका हुन् ।

जितपछि चौथो स्थानमा उक्लिएको बार्सिलोनाको चार खेलबाट सात अंक भएको छ । उ शीर्ष स्थानको एथ्लेटिको मड्रिड भन्दा दुई अंकले पछि छ ।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्