बाँके घटनामा निर्दोषलाई फसाउन खाजिएकाे नेकपाकाे आराेप

नेपालगञ्ज – सीतापुर घटनालाई लिएर कांग्रेसका सांसदहरुले संसद अवरुद्ध गरिरहँदा नेकपासम्वद्ध बाँकेका वडाध्यक्ष तथा युवा नेताहरुले निर्दोषलाई फसाइए कामकाज रोकेर सडकमा उत्रिने चेतावनी दिएका छन्।

२५ जना वडाध्यक्षहरुले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै वडाध्यक्षहरुले खजुरा–१, राधापुरका वडाध्यक्ष सुमन मल्ललाई राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले ज्यान मुद्दा लगाएको आराेप लगाउका छन्।

वडाध्यक्षहरुले ज्ञापनपत्रमा भनेका छन्, ‘सरकारले घटनाको गहिरो अनुसन्धान गरोस् । दोषीलाई कारबाही गर्न हामी पनि माग गर्दछौँ। तर, वास्तविकता भन्दा पर गएर राजनीतिक आग्रहका कारण निर्वाचित जनताका प्रतिनिधिलाई फसाउने उद्देश्यका साथ अप्रिय निर्णय गरियो भने हामी जनताको काम छोडेर जनताका साथ सडकमा उत्रिन बाध्य हुनेछौँ।’

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कांग्रेसको जागरण अभियानमा भएको घटनामा संलग्न नरहेका वडाध्यक्ष मल्ललाई राजनीतिक प्रतिशाेधले गर्दा फसाउन खोजेको बताए।

उनले भने, ‘वडाध्यक्ष मल्ललाई राजनीतिक प्रतिशाेधका आधारमा ज्यान मार्ने उद्योगमा मुद्दा प्रपञ्च रचिँदैछ । यो हाम्रो लागि किमार्थ स्वीकार्य हुनेछैन।’

आइतबार नै नेकपासम्बद्ध युवा संघ, अनेरास्ववियु, वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीले पत्रकार सम्मेलन गरेर निर्दोषलाई फसाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

उनीहरुले कांग्रेस पार्टी सभापति किरण कोइरालाको हात भाँचिएको सम्बन्धमा छानबिन गर्न माग गरेका छन्। युवाहरुले कांग्रेस सभापति कोइरालाको हात भाँचिएकोप्रति आशंका गरेका छन्।

यस्तै सीतापुर घटनालाई लिएर कांग्रेस बाँकेमा आन्तरिक कलह देखिएको छ। सोही घटनालाई लिएर कांग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीले पदबाट राजीनामा दिएकाे बताइएकाे छ।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्