प्लेयर अफ दी म्याच भएपछि बार्बाडोसको नजरमा सन्दीप, जमैका तल्लावाह्जसँग खेल्दै

जमैका : क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्राइडेन्ट्सले सोमबार बिहान जमैका तल्लावाह्जसँग खेल्दै छ।

प्रतियोगितामा चार खेल खेलिसकेको तल्लावाह्जले एक अंक पनि जोड्न सकेको छैन। दुई खेल खेलेको बार्बाडोस दुई अंक जोडेर चौथो स्थानमा छ। पहिलो खेलमा हार ब्यहोरेको बार्बाडोस सन्दीपको उत्कृष्ट प्रदर्शनपछि दोस्रो खेलमा जित हात पार्न सफल भएको थियो।

त्यस खेलमा सन्दीप प्लेयर अफ दी म्याच घोषित भएका थिए। सन्दीपले चार ओभरमा २२ रन खर्चिएर तीन विकेट हात पारेका थिए। पहिलो खेलमा भने उनले केवल एक ओभर बलिङ गर्दै पाँच रन खर्चिएका थिए।

सन्दीप टोलीको नजरमा छन्। पावर प्ले, मिडिल ओभर र डेथ ओभरमा कसिलो बलिङ गर्न सक्ने क्षमताका कारण स्पीनर सन्दीपको चर्चा चुलिँदो छ।

प्रतियोगितामा गुयाना एमाजन वारियर्स चार खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ट्रिनबागो नाइट राइडर्सको पनि चार खेलबाट ८ अंक छ। सेन्ट लुसिया जुक्स तीन खेलबाट दुई अंक जोडेर तेस्रो स्थानमा छ। पाँच खेल खेलिसकेको सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स २ अंक जोडेर पाँचौँ स्थानमा छ। शीर्ष चार टोली प्ले अफमा पुग्नेछन्।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्