सम्पादकीय

मन्त्री भट्टराईको गैरजिम्मेवार व्यवहार

युवा नेता योगेश भट्टराईले पर्यटन वर्ष २०२० समेतलाई सफल बनाउने दायित्वका साथ संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्‍मा लिएकाे करिब दुई महिना बितेको छ।

यो जिम्‍मेवारीको नेतृत्व राष्ट्रको तर्फबाट ग्रहण गर्ने व्यक्ति, सभ्य, सुसंस्कृत, जवाफदेही, विनम्र र कानुनप्रति समर्पित हुनुपर्दछ। अझ विदेशी यात्रुहरुको आगमन समय सुनिश्‍चित गर्ने दायित्व पनि उनको हुन जान्छ।

विज्ञापन

तर, विडम्बना शनिबार बेलुका नेपालगञ्‍ज विमानस्थलमा उनले प्रदर्शन गरेको गैरजिम्‍मेवार व्‍यवहार, आफ्नो व्‍यक्तिगत आराम र सुविधाका हिसाबले विमानको प्रस्थान रोक्‍नु र प्रभावित तथा क्रुद्ध यात्रुहरुसमक्ष क्षमायाचना गर्ने सामान्‍य शिष्टाचार समेत प्रदर्शन नगर्नुले एउटा प्रश्‍न उठ्छ, के उनी विदेशी यात्रुहरु लगायतका लागि आदरणीय र विश्‍वसनीय हुन सक्लान्? कानुन हातमा लिने व्‍यक्ति चाहे सामान्य नागरिक होस् या मन्त्री, कानुनको दायरामा आउनैपर्छ।

नेपालगञ्‍ज प्रकरणको स्पष्टीकरण संवादबाट होइन, सामाजिक सञ्‍जालबाट दिने प्रयत्न गरे उनले। त्यतिमात्र होइन, नागरिक अभियानका रुपमा या प्रभावित व्‍यक्तिका रुपमा प्रेस सम्‍मेलनमार्फत घटना जनसमक्ष ल्याउने प्रयासकै बीच ज्ञानेन्द्र शाहीलाई भट्टराई नजिकका गुण्डाहरुले हातपात गरे। उनीहरुलाई गिरफ्तार नगरेर प्रहरी राज्यद्वारा सिर्जित आतंकमा सहभागी बन्यो।

भट्टराईले प्रजातान्त्रिक पद्धतिमा मन्त्रीको पदमा रहने नैतिक र चारित्रिक हैसियत गुमाएका छन्। प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसबाट समेत यो घटनामा सरकार र सम्बन्धित मन्त्रीलाई जवाफदेही बनाउने अपेक्षा गर्न कठिन छ, किनकि उसको सरकार विरोध कर्मकाण्डी आलोचनामा सीमित छ।

तर, सरकारको हैसियत गुण्डागर्दीको संस्कृतिका अभिभावकमा परिणत हुन्छ, मन्त्री कानुनभन्दा माथि रहन्छ अनि प्रधानमन्त्री मौन र प्रतिपक्षी लाचार रहन्छ भने त्यो प्रजातन्त्रको मृत्युको पूर्व संकेत मानिनु पर्छ। न्यायका लागि हतियारको हातेमालो निर्माण भइरहेको अवस्था पनि हो यो।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्