प्रदेश-१मा सुरक्षा रणनीतिबारे सुरक्षा अधिकारीहरु र मुख्‍यमन्त्री राईबीच छलफल

मोरङ-प्रदेश एकस्तरीय दुइ दिने सुरक्षा गोष्ठी वर्तमान परिस्थिति र आगामी सुरक्षा रणनीति तय गर्दै सम्पन्न भएको छ।

विराटनगरमा आइतबार सम्पन्न गोष्ठीका क्रममा प्रदेश एकको १४ जिल्लाका सुरक्षा अधिकारीहरुले जिल्लाको सुरक्षा चुनौतिबारे जानकारी गराएका थिए। कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको बताएका थिए।

नेपाल सरकार गृह मन्त्रालय तथा प्रदेश एक आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशमा विभिन्न प्रकारका अपराधिक गतिविधी कम भएको दाबी गरेका थिए।

शान्ति सुरक्षा विगार्ने र अपराधिक घटनाक्रमसँग जोडिने कसैलाई पनि छुट नहुने बताएका मुख्यमन्त्री राईले कानून विपरीत कार्य गर्ने कठघरामा उभ्याउने स्पस्ट पारे।

जनताको चाहाना अनुसार सुरक्षा रणनिती अबलम्बन गर्नुपर्नेमा जोड दिएका प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले कानूनी दायरामा रहदैं आम नागरिकको सुरक्षा ब्यवस्था आजको आवश्यक्ता भएको बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको बताएका थिए।

उनले अपराध र अशोभनीय गतिविधिमा कमि आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरुमा तीव्रता आएको उल्लेख गरे।

गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदी, प्रदेश एकका प्रमुख सचिव सुरेश अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, प्रदेश एक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।

भदौ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्