शहरको कोलाहलबीच शान्त शक्ति पीठ: म्हेपी अजीमा

म्हेपी मन्दिर- ‘म्ह’ भनेको नेवारी भाषामा शरीर र ‘पी’ भनेको पीठ भन्ने शब्दबाट व्‍यूत्पत्ति भएको हो। यसको अर्थ मानव शरीरमाथि देवता विराजमान भएको जनाउँछ। किराँतकालमा यस मन्दिरलाई नै म्हस्पृङ्ग भन्ने नाममा सम्बोधित गरेको पाइन्छ।

त्यसो त पूर्वमा लेखिएका विभिन्‍न लेख रचनाअनुसार यस मन्दिरका बारेमा विभिन्न मतमतान्तर भेटिन्छन्। तर यस मन्दिरको स्थापनाबारे प्रमाणीकताका साथ केही भन्ने तथ्य अप्राप्य छन्।

विज्ञापन

यो मन्दिर काठमाडौ उपत्यकाको वडा नं १६ मा विष्णुमति नदी किनार २ सय मिटर पूर्वमा रहेको थुम्के डाँडामा अवस्थित छ। अत्यन्त मनोरम तथा शान्त वातावरणमा करिब २९ रोपनी २ आना जग्गामा रहेको म्हेपी मन्दिर स्थानीयहरुको आस्थाको केन्द्र हो।

यहाँ रहेका बोटविरुवा,चराचुरुङ्गीको आवाजले मन्दिर आउने जो कोहीको मनमा आनन्द अनुभूति गराउँछ। यसै मन्दिरको नामबाट यो स्थानको नाम नै म्हेपी रहन गएको हो।

मन्दिरमा २००३ सालमा पद्यशम्शेरको पालामा पद्यप्रिति धारा राखिएको शिलालेख रहेको छ। यस धाराले नै यस डाँडामा पानीको सुविधा उपलब्ध भएको थियो।

त्यसैगरी २०१५ सालमा गुभाजु देव रत्न बज्राचार्यको पहलमा बिजुली बत्तीको सुविधा उपलब्ध भएको अहिलेका गुभाजु भुवन रत्न बज्राचार्य बताउनु हुन्छ। वि. सं.२०१३ सालदेखि नै उँहाहरु यस मन्दिरका गुभाजुको रुपमा रहँदै आउनु भएको छ।

मन्दिरमा २०३५ सालमा गुभाजु देव रत्न बज्राचार्यको पहलमा दरबारमा विन्तीपत्र चढाए पश्चात् घामपानीले मन्दिर बचाउन प्यागोडा शैलीको संरचना बनेको गुभाजु भुवन रत्न बज्राचार्य बताउनु हुन्छ। त्यस पश्चात् २०५४–५५ सालतिर तत्कालीन मेयर केशव स्थापितको पालामा मन्दिर निर्माण समिति बनाएर मन्दिरलाई प्राचीन शैलीमै जिर्णोद्धार गर्न लगाइएको थियो।

मन्दिर कहिले स्थापना भयो भन्ने यकिन साथ भन्न नसकिने तर नेपालको उत्पत्ति हुदाँ स्वयम्भू चैत्यभन्दा अघि नै यस मन्दिर को उत्पत्ति भएको किवंदन्ती प्रचलित रहेको छ। पाटनका अधिकांश  बज्राचार्यहरुले यस मन्दिरलाई कुलदेवताका रुपमा मान्नेका गरेका छन्। मन्दिरका मुल पुरोहितका रुपमा ठहिटीको झवावहालमा रत्नकेतु महाविहारका बज्राचार्यहरु रहेका छन्।

रातो मच्छिन्द्रनाथसँग यस मन्दिरलाई जोडेर वर्णन गर्ने गरेको पाइन्छ। भनिन्छ रातो मच्छिन्द्रनाथको पूर्वजन्म नै म्हेपीमा भएको थियो। यस मन्दिरलाई योगाम्बर ज्ञानेश्वरीको मन्दिर भन्ने पनि चलन रहेको छ। यसको अर्थ दर्शन शास्त्रमा आकाश र धर्तीको मिलनको प्रतीक हो।

योगाम्बर ज्ञानेश्वरी मानव शरीरमाथि षड्योग मुद्रामा रहेर ध्यानमा लीन भएको र यस मुद्रा अनुसार ध्यान गर्नाले चाडै ध्यान सिद्ध भई ज्ञान प्राप्त हुने तंत्र मान्यता रहेको छ। योग साधना र तान्त्रिक साधनाका लागि यस मन्दिरको महत्वपूर्ण स्थान रहेको छ।

लगभग ३०० वर्ष अघि भक्तहरु आफ्नो मनोकांक्षा पुरा गर्ने हेतुले यस मन्दिरको देवलाई गोप्य देवताको रुपमा मानेर यहाँ योग ध्यान साधना गर्न आउँथे भन्ने भनाई प्रचलनमा रहेको छ।

स्वम्यम्भूका शान्तिकर बज्राचार्य सधैँ म्हेपी आउने गरेको र यहाँ आएर अष्टमातृकाहरुसँग संवाद गर्ने गरेको जनश्रुति रहेको छ। उनको बेलामा नेपालमा लामो अनिकाल भएको र सहकाल हुनका लागि शान्तिकर बज्राचार्यले आफ्नो छोरा योगाम्बरको भोग अष्टमातृकालाई दिएको किंवदन्ती पनि व्यापक रहेको छ।

किम्बदन्ती अनुसार देवीलाई भोग अर्पित गरेपछि छोराको मृत शरीरबाट हंस उडेर कामारु कामाक्षामा राक्षस जातिको कुलमा रातो मच्छिन्द्रनाथको रुपमा जन्मेका थिए। यसरी जन्मेको बालकको शरीरमा अष्टमातृकाहरुका चिन्ह विराजमान भएकोले म्हेपी भनेर विख्यात भएको पनि विख्यात छ।

प्राचिन धार्मिकस्थलको रुपमा रहेको यस मन्दिरलाई धेरैले अजिमाको रुपमा पनि पुज्ने गरेकोले यसलाई म्हेपी अजिमा पनि भनिन्छ। यहाँको प्रसाद मनदेखि आस्थाका रुपमा ग्रहण गर्नाले जस्तो सुकै कडा रोग पनि निको हुने जनविश्वास रहेको छ।

त्यसैगरी राजा प्रचण्ड देव प्रर्वजित भएर शान्तश्री भिक्षुका नामले चिनिए पछि गुणाकर राजाले शान्त श्री भिक्षुलाई बज्राचार्यको रुपमा अभिषेक दिएपछि उनको नाम शन्तिकर बज्राचार्य रहन गयो र उनले म्हसः पीठको नित्य पूजा गर्ने क्रममा योगाम्बर ज्ञानेश्वरीको इच्छा अनुसार सबै प्राणीहरुको कल्याणको लागि आफनै ३२ लक्षण भएका छोरा योगाम्बरलाई अर्पण गरेको र त्यही बालकको अर्को जन्म आसामको गुहाटीमा करुणामयको रुपमा जन्म लिएको भन्ने अर्को पनि किवंदन्ती रहेको छ।

यस अर्को किंवदंती अनुसार मृत बालकको हंस भने यही स्थानमा रहेको हुनाले पाटनको रातो मच्छिन्द्रनाथको मूर्ति का साथै अन्य मूर्ति एवं सेतो मच्छिन्द्रनाथ, बाघभैरव, नाला करुणामय, चोभार करुणामय, विजेश्वरीको मूर्तिको मर्मत सम्भारका लागि र अन्य आगम देवताहरुको मूर्ति निर्माण गर्नका लागि यहाँकै माटो लाने चलन आजपर्यन्त विद्यमान रहेको छ।

सनातन परम्पराका हरेक देवता भने कुनै न कुनै अन्य देवतासँग सम्बन्धित रहेको पाइन्छ, तर यही एउटा म्हेपी अजिमाको भने कुनै पनि देवदेवीसँग आपसमा सम्बन्ध नरहेको पाइन्छ।

काठमाडौँ उपत्यकाका चोकहरुमा रहेको विहार र महाविहारहरुमा भएका गुह्य आगम देवताहरुको मुर्ति निर्माण गर्नका लागि यहाँको माटो नै लाने परम्परा रहेको छ।

मुख्य देवताको मूर्ति यस मन्दिरमा नरहेको भनिन्छ। काठमाडौको तलाँछे भन्ने ठाउँमा म्हेपी अजिमाको मूलघर रहेको र त्यँहा नै म्हेपी अजिमाको मुख्य देवताका मुर्ति रहेको विश्वास गरिन्छ।

प्रत्येक चैत्र शुक्ल पूर्णिमाको राति उक्त देवमूर्ति यस मन्दिरमा ल्याउने गरेको र बज्रयान विधि अनुसार पुजा- आजा गर्ने चलन आजसम्म चलिआएको छ। पूजा अर्चना पश्चात यसरी ल्याइएको मूर्ति पुनः तलाँछे को मुख्य मन्दिरमा पुर्‍याउने गरेको मन्दिरका गुभाजु भुवन रत्न बज्राचार्य बताउनुहुन्छ।

स्वयम्भूको गुंला जात्रा सम्पन्न भएपछि यहाँ भने ञंला जात्रा मनाइन्छ। यस जात्रामा काठमाडौंका विभिन्न टोलबाट नेवारी बाजागाजा सहित बिहान तथा बेलुका भक्तजनहरु जम्मा हुने र सो मेला घटस्थापनाका दिन पारु भोज सम्पन्न भए पश्चात सम्पन्न हुन्छ। बालाजु पूर्णिमाका दिन गरिने म्हेपी अजीमाको जात्राको पनि विशेष महत्व रहेको छ।

यस जात्रालाई बालाजु पूर्णिमा वा ल्हुति पुन्ही पनि भनिन्छ, चैत्र शुक्ल पूर्णिमा, बालाजु बाइस धाराको मेलाभन्दा अघिल्लो दिनदेखि शुरु हुने यो जात्रा ३ दिनसम्म खटयात्रा गरेर तोकिएका ठाउँहरुमा विशेष पुजन गरेर मनाइन्छ। यसै दिन म्हेपी अजिमाको विशेष सेवा पूजा पनि गरिन्छ। यस जात्रामा पन्ध्र मुरीको समयबजी तयार गरि पूजा पश्चात् सो प्रसादका रूपमा वितरण गरिन्छ।

चैत्र शुक्ल पूर्णिमाका दिन बालाजुको नार्गाजुनमा नामसंगीतको स्त्रोत्र पाठ गर्ने गरिन्थ्यो तर यस दिन म्हेपी अजिमामा भने जात्रा गरिंदैनथ्यो। मानिसहरुले यस मन्दिरबारे जानकारी पाएर यस दिन यहाँ पनि आउन थालेकोले जात्रा चलाउने परम्परा बसेको हो।

जात्रा चलाउन पुग्दो सरकारी सहयोग नभएकोले गुठीयार मिलेर गुठीको जग्गाबाट आएको आयस्ताबाट जात्रा चलाउने गरेकोमा २०४७ साल पछि गुठियारका सन्तानले आफूखुशी जग्गा बेचविखन गरेको हुनाले मन्दिरको जात्रा चलाउन असहज अवस्था भएको गुभाजु भुवन रत्न बज्राचार्य बताउन हुन्छ।

समय क्रमसँगै यस मन्दिरमा मानिस योगा अभ्यास , बिहानी पख हिँडडुल, घुमफिर गर्नका लागि आउने गर्दछन्। हाल आएर यहाँ लोकेश्वर ध्यानगार गुम्बा समेत रहेको र मन्दिरको पश्चिम तर्फको मूल ढोका भित्र चैत्यहरु समेत बनाइएका छन्।

मन्दिरको दक्षिणमा भगवान बुद्धको मूर्ति रहेकोले पनि भन्न सकिन्छ कि यो मन्दिर हिन्दु तथा बौद्ध धर्म दुवैको आस्थाको केन्द्रका रुपमा रहेको छ। त्यसै गरी मन्दिर भित्र अष्टमातृकाका मूर्ति रहेका छन्। मन्दिर परिसरमा गणेश तथा सरस्वती लगायत अन्य देवी देवताका साथै मायादेवीको मूर्ति रहेको छ। यसलाई योगाम्बरको माताको रुपमा मानिन्छ।

यहाँ विभिन्न नेवारी गुठी तथा समुहको कार्यक्रम गर्नका लागि ५ वटा सत्तल रहेका छन्। एउटा कार्यक्रम कक्ष पनि बनाइएको छ। यस मन्दिरको व्यवस्थापन तथा संरक्षणका लागि २०५७ सालमा म्हेपी संरक्षण तथा व्यवस्थापन समिति गठन गरिएको थियो।

ऋचा श्रेष्ठ तिवारी

मन्दिर वरिपरि विभिन्न बोट विरुवा रोपेर भू–क्षय रोक्न सहयोग पुगेको छ ,त्यसै गरि मन्दिरको क्षेत्रफललाई सुरक्षित राख्नाका लागि वरिपरि पर्खाल लगाइएको छ र पुर्व पश्चिम दुवैतिर फलामे ढोका पनि लगाइएको छ।

पुर्वमा विश्राम स्थलका साथै पश्चिममा मन्दिरसम्म पुग्नका लागि व्यवस्थित सिँढी बनाइएको छ। मन्दिरबाट उत्तरतिर बालाजु ,नार्गाजुनका हरिया डाँडा देख्‍न सकिन्छ।

विभिन्न लेखका अनुसार यस मन्दिरका विभिन्न कथनहरु भेटिएका छन्।तर, मन्दिर स्थापना कहिले भएको भन्ने कुरामा यकिन साथ भन्न सकिंदैन्। न त मन्दिरका बारेमा आम सञ्चार माध्यममा त्यति चर्चा भएको छ। साँच्चै यो मन्दिर सांस्कृतिक अनुसन्धानको एउटा विषय हुनसक्छ।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्