तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणको प्रभाव

साउदी अरेबियाले उत्पादन घटाएपछि विश्व बजारमा इन्धनको मूल्य आकाशियो

साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएकाे छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा झण्डै आधा कटौती गरेको हो । यसको अर्थ विश्व बजारमा आपूर्ति हुने पाँच प्रतिशत तेलमा कमी आयो ।

विज्ञापन

आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रूडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रति ब्यारेल ७१.९५ अमेरिकी डलर पुगेको छ । यस्तै वेष्ट टेक्सास इन्टरमिडिएटमा १५ प्रतिशतले बढेर ६३.३४ अमेरिकी डलर पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएपछि मूल्य केही कम हुने संकेत देखिएको छ । उत्पादन कटौती भएको साउदी अरेबियाका तेल प्रशोधन केन्द्र आफ्नो पूर्ण क्षमतामा सञ्चालनमा आउन केही हप्ता लाग्ने छ ।

साउदीका उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानका अनुसार ड्रोन आक्रमण पश्चात तेल उत्पादन दिनको ५.७ मिलियन ब्यारेल कम भएको छ । यसको अर्थ साउदी अरेबियाले नियमित रुपमा उत्पादन गर्दै आएको तेलको मात्रामा आधा कटौती भएको हो ।

यमनका हुथी बिद्रोहीले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका हुन् । त्यसका लागि १० वटा ड्रोन प्रयोग गरिएको हुथी बिद्रोहीले जनाएको छ । साउदी अरेबियाको व्यापारिक सहयात्री अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले आक्रमणमा इरानको हात रहेको आरोप लगाएका थिए ।

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणका कारण अल्कालीन रुपमा अबकेक र खुराइसमा रहेका प्रशोधन केन्द्रबाट तेलको उत्पादन बन्द भएको प्रिन्स अब्दुलाजिजले साउदी प्रेस एजेन्सी (एसपिए) मार्फत जारी गरेको वक्तव्यमा उल्लेख छ । आक्रमणपछि हाल दुवै प्रशोधन केन्द्रमा अवस्था नियन्त्रणमा रहेको जनाइएको छ ।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्