साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमणः इरानको संलग्नता पुष्टि भएको अमेरिकी दाबी

साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको बताउँदै आएको अमेरिकाले आफ्ना दाबी पुष्टि गर्ने प्रमाण भन्दै स्याटेलाइट तस्बिर सार्वजनिक गरेको छ ।

स्याटेलाइट तस्बिर र गुप्तचर निकायबाट प्राप्त सूचना अनुसार साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको संलग्नता रहेको स्पष्ट हुने अमेरिकी दाबी छ ।

विज्ञापन

इरानले भने शनिबार भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । सो आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ ।

तर ड्रोन आएको दिशा र त्यसका लागि लाग्ने खर्च हेर्दा यसमा हुथी बिद्रोहीको संलग्नतामा सन्देश रहेको एक अमेरिकी अधिकारीले अमेरिकी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई ठूला प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । त्यसपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । जसका कारण गरेपछि कच्च तेलको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएको छ ।

दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा झण्डै आधा कटौती गरेको हो । यसको अर्थ विश्व बजारमा आपूर्ति हुने पाँच प्रतिशत तेलमा कमी आयो ।

साउदीका उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानका अनुसार ड्रोन आक्रमण पश्चात तेल उत्पादन दिनको ५.७ मिलियन ब्यारेल कम भएको छ । यसको अर्थ साउदी अरेबियाले नियमित रुपमा उत्पादन गर्दै आएको तेलको मात्रामा आधा कटौती भएको हो ।

 

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्