संसदीय समितिले सरकारको काममा नियन्त्रण होइन निगरानी गर्ने हो : सभामुख

फाइल तस्बिर

काठमाडौँ – सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण गर्ने गरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् ।

सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने पनि स्पष्ट पारेका छन् । संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संसदीय समितिहरुले अप्ठ्यारोमा पार्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जानकारी गराएको स्मरण गराउँदै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको गम्भीर ध्यानाकर्षण गराए ।

विज्ञापन

‘मलाई प्रधानमन्त्री आफैले संसदीय समितिहरुले अप्ठ्यारोमा पार्न थाले भनिरहनु भएको छ’ सभामुख महराले प्रधानमन्त्रीसँग भएको कुराबारे थप स्पष्ट पार्दै भने, ‘तर मैले सभापतिहरुसँग बसेर कुरा गरौँ न त भन्दा तपाईँ आफैले कुरा गर्नुस् भन्नुभयो ।’ सभामुख महराले संसदीय समितिहरुले सरकारलाई सही ट्रयाकमा लैजान संविधान, नियम र कानून अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्नुपर्ने बताए ।

सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन नसकिएको स्पष्टिकरण दिए ।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू