साढे ५ सय सिसिटिभीको पहरामा त्रिभुवन विमानस्थल, प्रशासन भन्छ: अब चोरी शून्य

विमानस्थलका सिसी क्यामेराको स्टेशन। तस्बिरहरु: बर्षा शाह

काठमाडौं: त्रिभुवन विमानस्थल प्रशासनले ९५ प्रतिशत क्षेत्र सिसिटिभीको निगरानीमा रहेको दावी गरेको छ। केही समयभित्रै विमानस्थलको सम्पूर्ण भूभाग सिसिटिभीको निगरानीमा आउने दावी गरिएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्ध राजकुमार क्षेत्री हाल ३ सय ४५ वटा सिसिटिभी सन्चालनमा रहेको र एक सय वटा जोड्ने प्रक्रियामा रहेको बताउँछन्।

विज्ञापन

‘थप एक सय वटा सिसिटिभी पनि चाँडै जोड्ने योजनामा छौँ। यसपछि त्रिभुवन विमानस्थलको सम्पुर्ण भू-भाग सिसिटिभीको निगरानीमा आउने छ। यसपछि यात्रुले ल्याउने ब्यागेजबाट हुने चोरीका घटना शून्यमा झर्ने हाम्रो विश्वास छ’, सोमबार आयोजित पत्रकार सम्मेलनमा महाप्रबन्धक क्षेत्रीले भने।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले  साउन र भदौमा यात्रुबाट ५५ वटा उजुरी परेकामा ४९ वटाको समाधान सिसिटिभीबाट भएको थियो। सोही समयमा विमान सन्चालक कम्पनीबाट भएका २७ उजुरीमा २२ वटाको समाधान सिसिटिभीबाट हेरेर सम्भव भएको उनको दावी छ।

‘सिसिटिभीबाट विमानस्थलको सुरक्षा निकै सजिलो भएको छ’, उनले भने। प्रहरीले प्रस्थानतर्फका यात्रुको ब्यागेज जाँचका लागि आधुनिक जाँच मेसिन तयारी भइरहेको जनाएको छ। ‘अब पहिलो चरणको स्क्यानिङपछि पुन बलियो जाँचका लागि आधुनिक मेसिनबाट जाँच हुने व्यवस्था गरिँदै छ। अबको एक देखि डेढ महिनाभित्र यो सन्चालनमा आउने छ’, डीआईजी उपाध्यायले भने।

विमानस्थलको आग्रह : भिआईपीको पास खोज्दै नआउनुस्


त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक क्षेत्रीले अनावश्यक व्यक्तिले भिआईपी पास खोज्ने गरेको उल्लेख गर्दै अब त्यो बन्द हुने बताए। ‘भिआईपी र भिभिआईपीसँग आउनेले समेत पास लिएर प्रस्थान गरेको पाइन्छ।  मेरो आग्रह : अब असम्बन्धित र अधिकार नभएका व्यक्ति पास भन्दै नआउनुस्’, क्षेत्रीले भने।

विमानस्थलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षसहित ६ जना भिभिआईपीको सुरक्षा जाँच हुँदैन। त्यसबाहेक राजपत्रमा भिआईपीको मर्यादा पाएकाले पास लिएर भिआईपी कक्षबाट जान पाउने तर उनिहरुको सुरक्षा जाँच हुने व्यवस्था छ। तर भिआईपी र भिभिआईपीसँगै जानेहरुले पनि भिआईपी कक्ष प्रयोग गरेर प्रस्थान गरेको पाइन्छ।

महाप्रबन्धक क्षेत्रीले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकाश गर्न र भ्रमण वर्ष २०२० लाई सफल बनाउने काम अन्तिम चरणमा पुगेको बताए।

उनका अनुसार २९ करोडभन्दा बढीको लागतमा बुटिक एयरपोर्टको अवधारणा कार्यान्वयन गर्न लागिएको भएपनि १० प्रतिशतभन्दा बढी खर्च भएको छैन। ‘अबको चार पाँच महिनाभित्र हामी सम्पुर्ण काम सकेर भ्रमण वर्षका लागि त्रिभुवन विमानस्थललाई तयार गर्ने छौँ’, महाप्रबन्धक क्षेत्रीले भने।

यसैगरी विमानस्थलमा विद्युत आपुर्ति बन्द भएका बखत १५ मिनेटसम्म धान्न सक्ने यूपिएसको पनि व्यवस्था गरिएको उनले जानकारी दिए।

डिआइजी सूर्यप्रसाद श्रेष्ठ।

 

त्रिभुवन विमानस्थल प्रमुख राजकुमार क्षेत्री।
विमानस्थलमा आयोजित कार्यक्रमका सहभागी। तस्बिरहरु: बर्षा शाह

 

 

 

 

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्