सीतापुर घटना: नेविसंघको अगुवाईमा प्रदर्शन

नेपालगञ्‍ज-सीतापुर घटनाको विरोधमा नेपालगञ्जमा नेविसंघको अगुवाईमा प्रदर्शन भएको छ।घटनाको दोषीलाई कारबाहीको माग राख्दै नेपालगञ्जमा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो।

राष्ट्रिय जागरण अभियान अन्तर्गत खजुरा–२, सीतापुरमा भएको कार्यक्रममा नेकपा समर्थित युवाहरुको आक्रमणमा पार्टी सभापतिको हात भाँचिएको भन्दै कांग्रेसले आन्दोलन गरिरहेको छ।

कांग्रेसले खजुरा वडा नं. १ का वडाध्यक्ष सुमन मल्लसहित १० जना विरुद्ध किटानी जाहेरी दिएर कारबाहीको माग गरिरहेको छ। घटनामा प्रहरीले तीन जनालाई समातेर कारबाही प्रक्रिया अघि बढाएको छ। अरुको खोजी भइरहेको जनाएको छ।पार्टी कार्यालयबाट निस्केको प्रदर्शन वीपीचोक, त्रिभुवनचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको थियो।

सरकारलाई दबाब दिन आयोजित प्रदर्शनपछिको कोण सभामा बोल्दै प्रदेश सांसद सुरेन्द्र हमाल, नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, राष्ट्रिय जागरण कार्यक्रमका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, तरुण दल बाँकेका सचिव विनोद रिजाल, महिला संघकी जिल्ला सभापति नारायणी रुपाखेतीलगायतले बोल्दै दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरेर कारबाही गर्न जोडदार माग गरे।

कांग्रेस बाँकेका सचिव तप्त पौडेलका अनुसार, मंगलबार तरुण दलको अगुवाईमा विरोध कार्यक्रम राखिएको छ। नेकपाका जिम्मेवार नेताहरुले सामाजिक सञ्जालमा कांगे्रस सभापति किरण कोइरालको हात नभाँचिएको, घटनामा कोही पनि घाइते नभएकोजस्ता कुराहरुसहित त्यो दिनको भिडियो समेत सार्वजनिक गरेपछि कांग्रेस अझ रुष्ट बनेको छ।

पार्टी सभापति कोइरालाले पत्रकारलाई दिएको अन्तरवार्तामा प्लाष्टर लगाएको हात हल्लाएको देखिएको छ। नेकपाका युवाहरुले कोइरालाको हात भाँचिएको आशंका गर्दै छानबिन गर्न माग गरिसकेका छन्।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्