ध्यान नगर्नुस्, यसले सबै सुरक्षा व्यवस्था भताभुङ्ग बनाइदिन्छ

‘म्यासेन्जर’मा सन्देश देखियो, ‘बाबु तपाईसँग ध्यानसम्बन्धी पुस्तकहरु छन् भने  १-२ वटा मलाई ल्याई दिनुपर्‍यो। अचेल मलाई एकदमै बढी टेन्सन हुन्छ, यसो ध्यान गरेर मनलाई स्थीर बनाउनुपर्‍यो।’

मेरा लागि भने ‘जीवन’ अति सामान्य घटना हो। र, यस सामान्य घटनाभित्र  हुने सबैखाले अन्य घटना-परिघटना भने  मेरा लागि त  ‘सामान्य घटनाभित्रका सापेक्षिक नियम अन्तर्गत खेलिने रमाइला खेल हुन्, र म  जीवनरुपी  मैदानमा  खेलिने  यस्ता तमाम खेलमा कहिले चाहेर र कहिलेकाहिँ नचाहेर पनि सहभागिता जनाउने खेलाडी हुँ।’

विज्ञापन

योभन्दा बढी जीवन र मेरो स्वयंको अर्थ, उपयोगिता  र उपादेयताबारे मलाई कुनै बोध, संज्ञान  अथवा दिव्यज्ञान आजका मितिसम्म घटित भएको छैन। भोलि र भविष्यको अनुमान गर्ने लियाकतका ‘कोरामिन ड्रोप’ मेरो मस्तिष्कमा उत्पादित हुने ग्रन्थि नै विकसित हुन कुनै अज्ञात कारणले सकेनन्।

अब सीता माइजूले  कस्तो मानिससँग आफ्नो अवस्था,  आकांक्षा  र ‘डिमाण्ड’ लेखी पठाउनुभयो!  जसका लागि जीवन र त्यसभित्र घटित  हुने सारा परिदृश्य ‘सो व्हाट’, ‘इट विल टू पास’  र वेदान्तको शब्द र भाषामा, ‘ब्रह्म सत्यम जगत मिथ्या र चरैवेती, चरैवेती’ को आभाषी अणु संयोजन मात्र हो। लोकेन्द्रबहादुर चन्दज्यू  त १२ औँ खेलाडी देख्नुहुन्छ आफूलाई, यो अकिञ्चन भने दर्शक दीर्घामा पनि नभएको,  टिभी र रेडियोबाट ‘कमेन्ट्री’ सुन्ने खेलप्रेमी मात्रै हो।

म दुखी हुँदा पूरै दु:खी हुन्छु, क्रोध गर्दा आफ्नो समग्रताले क्रोधित हुन्छु। रिसाएको बेला शान्तिपाठ गर्दिन, मनम़ा घृणाको भाव जागृत हुँदा करुणा निस्किनसक्ने दिल र दिमागको विद्युत सप्लाइ ‘अफ’ गर्छु। कफी पिउने चाहना हुँदा पशुपति जान्न, ठमेल रोज्छु, ‘टेन्सन’ हुँदा ध्यान गर्दिन, ‘टेन्सन’ कै वरिपरिको परिधिमा रुमलिन्छु। र, केही गर्ने मन नहुँदा केही पनि गर्दिन, न टिभी, न रेडियो, न मोबाइल, न पुस्तक, न सिनेमा, न सपिङ, न भजन, न मन्दिर… यी सबको सट्टा आफ्नी प्रेयसी निद्रालाई भेट्ने क्रममा ओछ्यान तताउँछु।

हत्तेरिका! नेताकै पारा भयो, माइजूसँग सम्वाद सुरु गरेको तर गर्न थालेँ आफ्नै बखान। ढिलो भए पनि समयमै चेत खुल्यो।

मैले माइजूलाई प्रत्युत्तमा लेखी पठाएँ, ‘मसँग ध्यानका कुनै पुस्तक छैनन्, म स्वयं नै ध्यानको लाइब्रेरी हो। यस लाइब्रेरीलाई नै बोलाउनुस्।’

माइजू पनि त ‘बनाना रिपब्लिकको मैंगो पिपुल!’ तुरुन्तै लेखी पठाउनुभयो- त्यसो भए बस्ने गरी यतै आउनुस्, ध्यानबारे चर्चा बसेर नै गरौँला।

मलाई विचित्र वा अचम्मको अथवा सन्केको जे भन्न मन लाग्छ भन्नुस्, ‘म जीवनका कतिपय खेलहरु आफूभन्दा कमसल खेलाडीसँग खेल्न रुचाउँदिन। ध्यानको खेल अथवा ‘फन्डा’ पनि मेरा लागि यस्तै हो, यो मेरा लागि, म स्वयंले, म आफैसँग खेल्ने खेल हो।’

कसैसँग यो खेल खेल्नु त परै जाओस्, म यसको चर्चा गर्नसम्म रुचाउँदिन। तर, माइजूसँगको सम्वादले मलाई झस्कायो, ‘पोहोरको दसैँमा मित्र लक्ष्मी बस्नेतसँग गरेको उत्तराञ्चल भ्रमण र लगत्तै माइजूसँग गरेको उडिसा भ्रमण पश्चात् मैले ध्यानमा बस्ने चेष्टा गरेको रहेनछु। लाग्यो- पहिला आफ्नो अभ्यास गरौँ, त्यसपछि कुनै दिन सामान्य रूपमा माइजूलाई भेट्न जाउँला।

दुई महिना बितिसक्यो, बिहान निरन्तर २-३ घन्टा अभ्यासरत छु तर मस्तिष्कको परिधि नाघेर ध्यानको रिक्ताकाशमा प्रवेश गर्न सकिरहेको छैन।

चिकित्सा विज्ञानले शरीरमा सञ्चालित हुने १०-१२ वटा सिस्टमको चर्चा गर्छ- ‘सर्कुलेटरी’, ‘डायजेस्टिभ एन्ड एक्सक्रेटरी’, ‘इन्डोक्राइन’, ‘इम्युन एन्ड लिम्फैटिक’, ‘रेनल’, ‘नर्भस’, ‘रेस्पिरेटरी’ आदि।

अब यदि कसैले भन्छ ,ध्यानमा त कस्तो आनन्द आउँछ, ध्यानले मेरो जीवन नै बदलिदियो, मभित्र केके परिवर्तन भए- कसैको जुनसुकै दाबीसँग मेरो के सरोकार! आखिर हामी सधैँ नै वैश्य युगमा न छौँ, अरु सबै युगबारेका कुरा सान्दर्भिक हुन्, प्रसंग आउँदा मानिस चर्चा गर्न रमाउँछ तर जतिसुकै डिग्रीबाट फर्के पनि आउन त वैश्य युगमै पर्छ। धन उपार्जन नगरी संसारमा जीविकोपार्जन गर्नु सम्भव छैन, तसर्थ ध्यान पनि उपार्जनको हेतु बन्यो। तथानामका गुरुवर्गले ध्यानको महिमामण्डन र तपाईँलाई लोभ्याउने ‘ब्रम्हास्त्र सञ्चालन’ मा इमान्दारी देखाए भने उनीहरुको आजीविका कसरी धानिन्छ?

‘न तपाईँलाई ध्यानसँग मतलब छ, न गुरुवर्गलाई कुनै प्रेम! तपाईँलाई आफ्नो दैनिक जीवनको जञ्जालबाट केही क्षण पलायन गर्न मन लाग्छ, ध्यानको ख्याल आउँछ। गुरुलाई तपाईँजस्ता ग्राहकको खोजी रहन्छ, ‘बायर र सप्लायर’ को भेट हुन्छ। तपाईँको मनलाई ‘रञ्जन’ पाइन्छ, गुरुलाई वैश्य युगको प्राण ‘धन’। दुवै खुशी, दुवैको आवश्यकता पूर्ति। तपाईँ र गुरुको सामूहिक प्रयासले ध्यान क्षतविक्षत हुन्छ, गरिमा गुमाउँछ यसले। ‘

मैले पुग नपुग १४ वर्ष ध्यानसाधनामा व्यतीत गरेँ। पूर्णकालीक समय लगाएँ, अरु यावतका गतिविधिको के कुरा, लेखनलाई पनि तिलाञ्जली दिएँ। सबै विधि पद्धतिअनुसारले ध्यान साधना गरेँ, सबै विधि भन्नाले ‘समाजले स्वीकार गरेका, निषेध  गरेका’ सबै विधि प्रयोग गरेँ।

यस लेखमा तारतम्य मिलाएर बुझ्ने अभिभारा पाठककै मस्तिष्कलाई। मभित्रबाट यस विषयबारे तीव्र जलप्रपात भइरहेको छ, जसलाई अनुशासन र क्रममा बाँध्न म समर्थ छैन।

सामूहिक चेतना

शरीर विज्ञान भन्छ- सामान्य मानिसले एक मिनेटमा १६ पटक सास फेर्छ, यो सामान्य अवस्थाको विवरण हो। त्यसैगरी सामान्य मानिसको मस्तिष्कभित्र १६ देखिमाथि ३०-३२ अथवा अझै बढ़ी विचारको आवागमन भइरहेको हुन्छ एक मिनेटमा। सबै सिस्टमभित्रका अंग-उपांगका आफ्ना आफ्ना प्राकृतिक गतिविधि, सुर तालमा सञ्चालित/सम्पादित हुने व्यवस्था छ । कुनै ‘इन्डोक्राइन स्पेस्लिस्ट’सँग सोध्नुस्, ‘प्यान्क्रियाजले कसरी ‘इन्सुलिन’ र ‘ग्लुकोगान’ नामक हार्मोन स्रावित गर्छ? ‘अल्फ़ा’ र ‘बिटा’ कोशिका कुनबेला सक्रिय हुन्छन्? ‘इन्सुलिन’ र ‘ग्लुकोगान’ द्रव्यको काम विपरीत किन हुन्छ र यी विपरीत अवस्थामा नै किन श्रावित हुन्छन्?

ध्यान  ‘म’ भनाउँदो तत्व, यसलाई जुनसुकै नाम दिनुस्, चेतना, विवेक, प्रज्ञा ,बोध, मन, आत्मा, जीवात्माले यही नश्वर भनिने देहकै माध्यमले गर्ने अनुष्ठान होइन र? ‘म’ र यो नश्वर देहमा कति भिन्नता छ? तपाईँलाई ‘म’ शब्दप्रयोगले असहज प्रतीत हुन्छ भने आत्मा शब्द प्रयोग गरेर चिन्तन गर्नुस्- शाश्वत सनातन आत्मालाई नश्वर देहमाथि भर पर्नुपर्ने कस्तो बिडम्बना!

मेरो व्यक्तिगत अनुभवमा ध्यान यसै नश्वर देह र देहमै रहेको एक अंश मस्तिष्कको परस्पर संयोजनले आभाषी स्वरुप धारण गर्ने  ‘मन, बुद्धि, चित्त, अहंकार, चेतना, विवेक, बोध, प्रज्ञा, आत्मा’ आदिको भौतिक प्राकृतिक चयन विकास र निष्पत्तिलाई अझ परिस्कृत गर्ने मानवीय प्रयास, संघर्ष र अनुपम विधिको श्रेष्ठ प्रारूप वा कारगर विधि हो।

तर संयोजनले आभाषी अस्तित्व ग्रहण गर्ने उपर्युक्त सबै विम्बको ‘क्वलिटेटिभ इम्प्रुभमेन्ट’ हुनुभन्दा पहिला ध्यानले संयोजनका दुबै घटक (देह र मस्तिष्क) को कार्यपद्धति र प्रणालीलाई परिवर्तित वा परिष्कृत गरेन भने, मलाई ध्यानमाथि होइन यस विषयक अनुभवजन्य दावी गर्ने महाशयहरुमाथि अट्टहास गर्न मन लाग्छ।

ल जाँच्न तपाईँ आफैँ सक्नुहुन्छ। हेर्नुस् आभाषी अस्तित्व धारण गरेका उपर्युक्त कतै  वर्णित आदि यावतका ‘संज्ञा’,’सर्वनाम’, ‘विशेषण’, ‘रूपक’, ‘पद’को परीक्षण गर्ने कुनै उपाय छैन। तर देह र मस्तिष्क एवं अंग- उपांगको बिना कुनै वैज्ञानिक उपकरण जाँच गर्ने सहज उपाय छ।

ध्यानको सतत अभ्यासले श्वास संख्या स्वतः कम  हुँदै जान्छ र यो ध्यानमा बसेको बेला मात्रै होइन, जीवनकै ढंग बन्न पुग्छ। कतिपय गुरूहरुको असहमति होला, तर म आफ्नो अनुभवमा अडिग छु, जबसम्म तपाईँको श्वास संख्या ८-१० को हाराहारीमा आउँदैन, तपाईँलाई ध्यानको केही अनुभूति हुँदैन।

‘कोही ध्यानमा बस्ने अभ्यास गर्छ भने २-३ महिनाकै अवधिमा उसको श्वास-प्रश्वासको ‘प्याटर्न’ बदलिन्छ। १ मिनेटमा १६ वा योभन्दा पनि बढ़ी रहेको श्वास प्रश्वास संख्या १२-१६ मा आइपुग्छ। अभ्यासको निरन्तरताले अर्को ४-५ महिनामा यो घटेर ८-१२ मा सीमित हुन्छ। यो एकदमै स्वाभाविक अथवा भनौँ  ‘रेस्पिरेटरी सिस्टम’ मा कुनै छेड़छाड़, बलजफ्ती नगरी प्राकृतिक ढंगले भइरहेको हुन्छ। आफ्नो बलजफ्ती प्रयासले तपाईँ एक मिनटसम्म नै श्वास रोक्न सक्नुहुन्छ होला, तर यहाँ आशय श्वास रोक्नुको अथवा बलपूर्वक नियन्त्रित गर्नु होइन।’

ध्यानको सतत अभ्यासले श्वास संख्या स्वतः कम  हुँदै जान्छ र यो ध्यानमा बसेको बेला मात्रै होइन, जीवनकै ढंग बन्न पुग्छ। कतिपय गुरूहरुको असहमति होला, तर म आफ्नो अनुभवमा अडिग छु, जबसम्म तपाईँको श्वास संख्या ८-१० को हाराहारीमा आउँदैन, तपाईँलाई ध्यानको केही अनुभूति हुँदैन। अझ सतत अभ्यास जारी रखे अर्को ४-५ महीनामा श्वास संख्या घटेर ४-८ मा सीमित हुन आउँछ। ध्यानको निरन्तर अभ्यासले यहाँसम्म नपुगेको मानिससँग ध्यानको चर्चा गर्नु बुद्धिविलास अथवा व्यवसायका लागि गरिएको ‘मार्केटिङ’ हुनसक्छ, ध्यानको विश्लेषण-विवेचन हुन सक्दैन। त्यस व्यक्तिसँग के चर्चा गर्नु, जसको यस विषयमा कुनै अनुभव नै छैन, पात्रता नै छैन।

श्वास संख्या ४-८ मा आउँदा मस्तिष्कको कार्यप्रणाली प्रभावित हुन्छ। तपाईँलाई थाहै होला, मस्तिष्कमा प्रतिमिनट १६ भन्दा बढ़ी विचारको आवागमन हुन्छ।जसरी श्वास संख्या प्राकृतिक रूपमा कम हुँदै जान्छ, विचारमा पनि ह्रास आउन थाल्छ। श्वास ४-८ मा स्थिर हुँदा विचार पनि ४-८ मा सीमित हुन आउँछन्।

ध्यानको यस ‘स्टेज’सम्म पुग्न १०-१२ महिनाको समय लाग्नु सामान्य हो। यो ध्यान यात्रामा गम्भीर दत्तचित्त भएर लाग्नेहरुका लागि मात्रै हो, अन्यथा त जीवनभरिको समय पनि पर्याप्त हुन्न।

तपाईँ आफ्नो व्यस्त जालझेलयुक्त दैनिकीको १६-१७ घन्टे अवधिबाट ३०-४०-५० मिनटको समय ध्यानमा बसेर (डेमन्स्ट्रेसन गरेर) शान्ति, आनन्द पाउन चाहनुहुन्छ भने यो बाहियातको चाहना र प्रयास मात्रै हुनेछ। तपाईँ त्यै ३०-४० मिनट ध्यानमा बसेकै बेला पनि शान्त हुन सक्नुहुन्न। कारण- शान्त हुनु मस्तिष्कको स्वभाव नै होइन, शान्ति त मस्तिष्कका लागि मृत्युसरह हो। विचार गरी हेर्नुस् त, ध्यानमा बस्नासाथ तपाईँभित्र विचारको श्रृंखला झनै तीव्र हुन्न र? यो मस्तिष्कले आफ्नो सुरक्षाका लागि गरेको प्रबन्ध हो, ऊ तपाईँलाई शान्त भएको हेर्न चाहन्न।

माइजू, सम्झिनुस् त हाम्रो एकजना नातेदार अर्बपति हुनुहुन्छ, यस्तो एकजना मात्रै भएकाले तपाईँलाई ठम्याउन गार्‍हो हुन्न होला। केही वर्षपूर्व उहाँले मसँग सोध्नुभयो- मनलाई शान्त कसरी गर्ने? म फलानो- फलानो गुरुकहाँ गए, ध्यान गरेँ, तर मन त शान्त भएन?

मैले उहाँसँग यस्तो चर्चा गरेको अझै स्मृतिमा छ,  मामा! तपाईँले घरमा एउटा पार्टी आयोजना गर्नुपर्‍यो। ४-५ सय अतिथि बोलाउनुस्। रातभरि धूमधामसँग उच्छृखंलतापूर्वक सबैले ‘इन्जोय’ गरौँ।

भोलिपल्ट बिहान तपाईँ र म आधा घन्टामा घर सफा गरेर ध्यान गर्ने उपक्रम गरौँला। तर, पूरै घर सफाइमा अरुले सहयोग गर्नुहुन्न।

भान्जा, १०-१२ घन्टासम्म तिमीले भनेअनुसार धूमधड़ाकासाथ पार्टी गरेर जथाभावी  फोहोर भएको घरलाई २ जनाले मात्रै कसरी सफा गर्न सकिन्छ? फेरि घर सफा हामीले किन गर्नुपर्‍यो? यसका लागि ४-५ जना सहायक छँदैछन्।

१०-१२  घन्टामा ४-५ सयजना अतिथिले गरेको फोहोर २ जनाले सफा गर्न सकिन्न र मामा, मैले एकपटक पुनः  ढिपी गर्दै सोधेँ?

कहाँ सकिन्छ भान्जा, मामाले सहज जबाफ दिनुभयो, फेरि घर सफा गर्ने काम हाम्रो होइन।

अनि मामा दिनमा १६-१७ घन्टा मस्तिष्कमा थुपारिएको फोहोर, तपाईँ ३०-४० मिनट ध्यान गरेर सफा गर्ने कुरा किन गर्नुहुन्छ? तपाईँको मस्तिष्कलाई १६-१७ घन्टे अवधिमा ४-५ सयले मात्रै होइन, हज़ारौँ जनाले प्रदूषित बनाउने काम गर्छन्, यसलाई आधा घन्टाको ध्यानले सफा बनाएर शान्त- आनन्दित बनाउने कुरा उस्तै-उस्तै होइन र? र, शान्ति पाउने चाहना यदि छ भने मामा, मस्तिष्क सफाइमा कुनै सहायकले सहयोग गर्न सक्दैनन्।

उहाँ पनि विज्ञानकै विधार्थी हो, मेरो तर्क बुझ्नुभयो र भन्नुभयो- त्यसो भए मेरा लागि त यो ‘रिटायर्ड  लाइफ’को कुरा मात्रै हुने भयो। ‘रिटायर्ड लाइफ’मा तिम्रो संगत गर्नुपर्ला। लेख्दालेख्दै सम्झिएँ- यो जनवरी २०१०को कुरा थियो। माइजू, म उहाँको इमानदारीसँग प्रभावित छु, त्यसपछि ३-४ पटक उहाँसँग भेट भयो, उहाँले ध्यानबारे कहिले पनि चर्चा गर्नु भएन, कम्तिमा मसँग।

विडम्बना यही हो माइजू, मानिस १५-१६ घन्टा गरेको फोहोर आधा-एक घन्टाको प्रयासमा सफा गरी निर्मल-शान्त हुन चाहन्छ। के तपाईँलाई लाग्छ- यो सम्भव हुनसक्छ?

विचार जस्तासुकै हुन्, सबै नै ध्यानका लागि  बाधा हुन्, चाहे विचार धनको होस् अथवा ईश्वरको! कुनै विचार पनि ध्यानका लागि शुभ्र हुँदैनन्।

माथि मैले आफ्नै बारेमा २ महिनादेखि ध्यानमा बस्ने अभ्यास गरिरहेको र  भरपूर चेष्टाले पनि मनोवाञ्छित (पूर्वमा अर्जित) सफलता पाउन नसकेको उल्लेख गरेँ। समय लाग्नुको, सफलता नपाउनुको रहस्य पनि मलाई विदित छ। विगत डेढ दुई वर्षदेखि लेखनमा निमग्न छु। दैनिक ८-१० घन्टा लेखन-अध्ययनमा व्यतीत भइरहेका छन्। भनौँ, दिनहुँ अनेक जानकारी  हालेर मस्तिष्कलाई प्रदूषित गर्ने काममा छु। २-३ घन्टा को सफाइ पर्याप्त छैन र फेरि फोहोर थुपार्ने काममा पनि कुनै कमी छैन ।

वर्तमानको मेरो लेखन मेरो रहरमात्र नभएर चिया सिगरेटदेखि लिएर अन्य दैनिक आवश्यकता परिपूर्ति गर्ने माध्यम हो, यसको अन्य कुनै वैकल्पिक उपाय मसँँग छैन, साधनापूर्वको जीवनमा यसै कलाको विकास गरेको थिएँ, यही नै अहिले मेरो अल्पउपार्जनको साधन बनेको छ। लेखनको आफ्नै एउटा छुट्टै विडम्बना हुन्छ, लेख्ने विषय वस्तुबारे लेखकले मस्तिष्कको घट्ट घुमाई राख्नुपर्छ,  मस्तिष्कमा कुनै विषय वस्तु आउनासाथ त्यसलाई लिपिबद्ध गरिएन भने त्यसको पुच्छर समाउन सकिँदैन।

मेरो ध्यान अभ्यासमा पनि लेखनले ती तमाम विघ्न दिएको छ, जुन सबै मानिसको जीवनमा हुन्छन्।  माइजू, विचार जस्तासुकै हुन्, सबै नै ध्यानका लागि  बाधा हुन्, चाहे विचार धनको होस् अथवा ईश्वरको! कुनै विचार पनि ध्यानका लागि शुभ्र हुँदैनन्। निरन्तरको अभ्यासले पनि मेरो श्वास १० भन्दा तल गइरहेको छैन।

मस्तिष्कलाई ‘ओभर ल्याप’ गरेर एक-दुईपटक विश्रान्तिको छेउछाउ पुगे पनि मस्तिष्कको बलियो पकड़बाट पर जान सकेको छैन। जाने पनि कसरी, यही सामान्य विश्रान्तिले मस्तिष्कलाई २-३ घन्टाका लागि शून्य बनाइदिन्छ। ध्यान र लेखनमध्ये एउटा रोज्ने स्थितिमा मेरो झुकाव लेखनतिर उन्मुख हुन्छ। अचेल त  अभ्यास पनि घटाएको छु,दिन बिराएर मात्र गर्छु, कारण त्यही अभ्यासपछि सामान्य अवस्थामा आउन २-३ घन्टा लाग्छ।

माइजू, ध्यान स्वेच्छाले रोजेको मृत्यु हो, शरीरको मृत्यु त एक दिन आफैँ हुन्छ। शरीरको त्यस मृत्युभन्दा पहिला विचारको मृत्यु गराउने साधन हो ध्यान। हिन्दू र बौद्ध परम्परामा शरीरको मृत्यु हुनुभन्दा पहिला विचारको मृत्युलाई प्रधानता दिइएको छ। विचार शून्यताको अवस्था नै वास्तविक मृत्यु हो, शरीरको मृत्युलाई त धर्मग्रन्थहरुले लुगा फेर्नुभन्दा पनि सस्तो मानेका छन्।

मेरो यो पत्र पढ़ेपछि पनि तपाईँलाई यदि ध्यानप्रति रूचि रहन्छ भने अवश्य नै म तपाईँसँग ध्यान विषयक थप चर्चा गर्छु। अभ्यास भने तपाईँको आफ्नो जाँगरको कुरा हो, तर मलाई लाग्दैन- अनेक जिम्मेवारी सम्भालिराख्नु भएको तपाईँले गहिरो ध्यान अभ्यास गर्न सक्नुहुन्छ।

मेरो मस्तिष्कमा लेखन विषयक बाहेक अन्य केही प्रदुषण हुन्न र त मलाई यतिको संघर्ष गर्नु परिरहेको छ। तपाईँको  मस्तिष्कका विषयको ‘लिस्ट’ तयार गर्ने हो भने भन्नुस् त कति मिटर लामो कागज चाहिन्छ? तपाईँलाई त छोराको २ प्रतिशत ‘मार्क्स’ कम भयो भने पनि १५-२० दिनलाई घरको ‘हार्मोनी’ खल्बल्याउने गरी ‘हार्मोन्स’को आपूर्ति हुन्छ, यो ‘हार्मोन्स’को उत्पादन तपाईँकै मस्तिष्कले आफ्नो सुरक्षाका लागि गराउँछ।

थाहा छ तपाईँलाई, तपाईको सबैभन्दा भरपर्दो सुरक्षा गर्ने तत्व के हो ? राति ढोका लाएर सुत्ने, पैसा दराज़मा राख्ने लगायतका सुरक्षा उपाय त अति दोयम दर्जाका उपाय हुन्। तपाईँको सबैभन्दा उत्तम सुरक्षा तपाईँको मस्तिष्कले गर्छ/गराउन लाउँछ। अब ध्यान भनेको मस्तिष्कको यसै  सुरक्षा चक्रलाई छिन्नभिन्न गर्नु हो।  के तपाईँ आफ्नो सर्वोत्तम सुरक्षा व्यवस्थालाई भताभुङ्ग गर्न तत्पर हुनुहुन्छ?

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्