मानव बेचबिखन रोकथामका लागि नेपाल र भारतका अधिकारीले प्रभावकारी समन्वय गर्ने

बहराइच (भारत) – मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि नेपाल र भारतका अधिकारीहरु प्रभावकारी समन्वय गरेर अघि बढ्ने भएका छन् ।

कारितास इन्डियाको सहयोगमा देहात बहराइच (भारत) ले बहराइचमा आयोजना गरेको नेपाल र भारतका सरकारी तथा गैरसरकारी अधिकारीहरुको बैठकमा त्यस्तो निष्कर्ष निकालिएको हो । मानव बेचबिखन तथा ओसारपसार संगठित अपराध भएकाले त्यसको रोकथामका लागि दुवै देशका अधिकारीहरुले मिलेर काम गर्नुपर्ने निष्कर्ष निस्केको छ ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्ने दुवै देशका संघ संस्थाका बीचमा यसअघि पनि नेपाल र भारतमा यसप्रकार बैठकहरु भएर संयुक्त कार्ययोजना बनेका छन् । सोमबार बहराइचमा भएको बैठकले पुराना कार्ययोजनासँगै नयाँ बुँदाहरु राखेर थप प्रभावकारिताका साथ अघि बढ्ने निष्कर्ष निकालेको हो ।

नेपाल–भारत ज्वाइन्ट एक्सन फोरमलाई प्रभावकारी बनाउने, उद्धार र पुनर्स्थापनामा सहकार्य गर्ने, सीमावर्ती अधिकारीका बीचमा हुने बैठकमा मानव बेचबिखनको मुद्दालाई नियमित एजेन्डा बनाउने, दुवैतिर नाकामा पीडितमैत्री व्यवहार गर्ने, दुवै देशका सरकारी र गैरसरकारी संस्थाका बीचमा प्रभावकारी समन्वय गर्ने, संयुक्त अनुगमन गर्ने निष्कर्ष निकालिएको छ ।

बैठकको उद्घाटन गर्दै बहराइचका सांसद अक्षयबरलाल गोंड्जीले नेपालमा मात्रै होइन, भारतमा पनि बेचबिखनको समस्या रहेकाले मिलेर काम गर्नुपर्ने बताए । उनले नोकरी, आर्थिक प्रलोभन, व्यापार, विवाहका नाममा तस्करी भइरहेको बताए । ‘नेपालमा गरिवी, अशिक्षा, बेरोजगारी मुद्दा छन्, यसले गर्दा बेचबिखनको जोखिम बढेको छ, सांसद गोंड्जीले भने, नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बसेपछि तस्करीमा कमी आएको छ ।’

सांसद गोंड्जीले नेपालबाट बेचबिखनमा परेका नेपालीलाई भारतबाट उद्धार गरेपछि यहाँ अनुसन्धान नगरेर नेपाल पठाइदिने परिपाटीको अन्त्य हुने पर्ने बताए । ‘भारतमा पक्राउ परेकालाई नेपाल प्रहरीलाई बुझाइदिने गरिएको छ । यो त अनुसन्धानको झमेलाबाट बच्ने उपाय हो जस्तो लाग्छ । मनुष्यको कर्तव्य भनेको यो देश वा त्यो देशको भन्ने हुँदैन, सुक्ष्म अनुसन्धान गरेर अपराधीलाई कारबाही गर्नुपर्छ, सांसद गोंड्जीले थपे ।

भारत लखिमपुरका डीआइजी अभिषेक पाठकले मानव बेचबिखन ‘च्यानल’बाट हुने भएकाले नाकामा दुवै देशका बीचमा समन्वय आवश्यक रहेको बताए । उनले नाकामा एसएसबीले कडाई गरिरहे पनि मानव बेचबिखनका घटना बढिरहेको बताए ।

डीआइजी पाठकले प्रस्तुत गरेको पछिल्लो तीन वर्षको मानव बेचबिखनका घटना र उद्धार संख्यामा बढोत्तरी देखिन्थ्यो । उत्तर प्रदेशका सीमावर्ती बहराइच, लखिमपुर र श्रावस्तीमध्ये बहराइचमा बढी उद्धार र मुद्दा दर्ता भएका छन् । सन् २०१९ मा बहराइचमा २८ वटा घटनामा ४६ जनाको उद्धार गरिएको छ । त्यसअघि सन् २०१८ मा १२ घटनामा ५१ र २०१७ मा १२ घटनामा १६ जनाको उद्धार गरिएको थियो । लखिमपुरमा सन् २०१७ मा १० घटनामा २६, २०१८ मा १८ घटनामा ३३ र २०१९ मा २१ घटनामा ४२ जनाको उद्धार गरिएको छ ।

शक्ति समूहकी सञ्चालक चरिमाया तामाङ, माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइराला, विन रक इन्टरनेशनलकी कमला पन्तले नेपालबाट हुने मानव बेचबिखनका शैली, उद्धार र पुनस्र्थापनाका कठिनाईलगायतका विषयमा प्रकाश पारेका थिए । नेपालका यी प्रतिनिधि र कारितास इन्डियाकी थेमेटिक मेनेजर लिजा, देहात बहराइचका निर्देशक जितेन्द्र चुतुर्वेदीले सूचना आदान प्रदान, समन्वय, नाकामा निगरानी, सरकारी अधिकारीलाई संवेदनशील बनाउनु पर्नेमा जोड दिए ।

बैठकमा कारितास र देहातले सांसद गोंड्जीलाई विभिन्न सात बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा सीमावर्ती जिल्लामा सेल्टर बनाउनु पर्ने, प्रहरीमा मानव तस्करीविरुद्धको इकाई बनाउनु पर्ने, सीमावर्ती अधिकारीको बैठकमा मानव तस्करीको मुद्दालाई समेट्नु पर्ने, पुनस्र्थापनाका लागि कार्यक्रम बनाउनु पर्ने, सीमाका हरेक थानामा महिला र बालमैत्री बासस्थान बनाउनु पर्ने, पारिवारिक मिलनका लागि इकाई बनाउनु पर्ने माग राखिएको थियो ।

भारतका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहभागितामा रहेको बैठकमा नेपालगञ्जबाट माइती, विन रक इन्टरनेशनल, शक्ति समूह, साना हातहरु र आफन्त नेपालका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्