इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र ? भन्नेसम्म भाव हुने नेवार समुदायका मानिस बताउँछन् ।

रथयात्रा गर्ने क्रममा पहिलो र दोस्रो रथ गणेश र भैरवको हुन्छ भने अन्तिममा कुमारीको रथयात्रा हुन्छ । अवकाश नपाएसम्म भैरव र गणेश पनि कुमारीसरह बस्ने गर्छन् । कुमारी र भैरव–गणेशमा एउटा मात्रै फरक रहेको पाइन्छ । कुमारी वर्षमा १३ दिन मात्रै स्थायी रूपमा बसेको कुमारी घरबाट बाहिर निस्कन पाउँछिन् भने भैरव र गणेशलाई बाहिर निस्कन छुट छ ।

विज्ञापन

कुमारी, गणेश र भैरव बस्ने निश्चित सीमा हुन्छ । काठमाडौँको परम्परागत सीमा नाघेर अन्त बस्नु हुँदैन । कुमारीघरमा कुमारीको बस्ने व्यवस्था रहे पनि भैरव र गणेशका लागि छुट्टै घर छैन । आफ्नै घर छैन भने भाडामा लिएर समेत भैरव र गणेश बस्नुपर्ने हुन्छ । हाल भैरव फुपूको घर र गणेश मामाघरमा बस्दै आएका छन् ।

विसं २०६५ मा भैरवका रूपमा नियुक्ति लिँदा रुजन शाक्य तीन वर्षका थिए । हाल उनी १४ वर्षका भए । भैरवसँगै रथयात्रामा सहभागी हुने गणेश ९संवेग शाक्य० पनि १४ वर्षकै छन् । सामान्यतया रजस्वला भएपछि कुमारीले अवकाश पाउने गर्छिन् भने व्रतबन्ध (बन्देछुयगु) गर्ने उमेर भएपछि गणेश र भैरवले अवकाश पाउने व्यवस्था छ ।

नेपालमा राजतन्त्र हुँदा कुमारी, गणेश र भैरवले गर्दै आएको नियमित पूजा रोकिएको छ । कुमारी, भैरव र गणेशको कार्यविधि परिमार्जित हुन नसक्दा नियमित पूजाहरू रोकिएको वर्तमान तथा भूपू जीवित श्रीभैरव तथा श्रीगणेश संरक्षण समितिका कार्यालय सचिव विश्व शाक्यले जानकारी दिए । उनका अनुसार कुमारी, गणेश र भैरवमध्ये एकको नयाँ नियुक्ति हुँदा र राष्ट्रप्रमुखको नयाँ नियुक्ति हुँदा गर्नुपर्ने पूजा राजतन्त्रको समाप्तिसँगै रोकिएको छ ।

विसं २०६५मा कुमारी र भैरवको नियुक्ति हुँदादेखि उक्त पूजा रोकिएको हो । पूजा रोकिएपछि २०६६ सालमा गणेशको नियुक्ति पाएका संवेगको पालामा भने गुठी संस्थानको सहयोगमा नियमित पूजा गरिएको थियो ।

कसरी छानिन्छ ?

लिच्छविकालदेखि इन्द्रजात्रा मनाइने प्रचलन रहे तापनि कुमारी, भैरव र गणेशको रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशको पालादेखि सुरु भएको पाइन्छ । सुरुवाति चरणमा भैरव र गणेशको रथलाई अगाडि राखेर स्वयम् जयप्रकाशले कुमारीको रथमा बसी यात्रा चलाएको भन्ने गरिन्छ ।

कुमारी, भैरव र गणेश छनौट गर्ने एउटै विधि हो । छनौट भएपछि उनीहरू तोकिएको विधिअनुसार बस्नुपर्छ । अवकाश लिने समय नजिकिँदै गर्दा आफ्नो छोरालाई गणेश र भैरव बनाउन इच्छुक काठमाडौँका शाक्य समुदायका परिवारलाई आवेदन दिन लगाइन्छ । इच्छुकको चिना तलेजुको पुजारीकहाँ पठाइन्छ ।

पुजारीले चिना हेरेपछि राजपुरोहितलाई सिफारिस गर्छन् । राजपुरोहितको सिफारिशअनुसार छनौट गरिन्छ ।

छनौट गरेपछि नवनियुक्त गणेश वा भैरवले नियम पालना गर्नुपर्छ । गणेश र भैरव बन्नका लागि बुबाआमा काठमाडौँका १८ विहारमध्येका शाक्य हुनुपर्छ । बालकको शरीरमा कुनै चोटपटक वा खोट हुनुहुँदैन ।

सरकारी सहयोग

कुमारीको सम्पूर्ण व्यवस्था राज्यबाटै हुने गरे तापनि भैरव र गणेशका लागि सरकारले सीमित मात्रामा रकम दिने गरेको छ । दुवैका लागि निवृत्तिभरण व्यवस्थापन कार्यालयबाट वार्षिक रूपमा रु नौ हजार तीन सय पचहत्तर दिँदै आइएको छ । उक्त रकम घरबहाल, शैक्षिक र पद भत्तावापतको हो ।

त्यस्तै जीवित देवका लागि काठमाडौँ महानगरपालिकाबाट मासिक रूपमा तीस हजार दिइँदै आएको छ । गत वर्षसम्म १५ हजार रहेकामा यस वर्षदेखि रकममा वृद्धि भएको गणेशका मामा समेत रहेका विश्वले जानकारी दिए । त्यस्तै पूर्वगणेश तथा भैरवका लागि निवृत्तिभरण कार्यालयबाट रु दुई हजार ८०० र कामपाबाट रु बाह्र हजार आर्थिक सहयोग हुँदै आएको छ ।

उनका अनुसार श्रीभैरव तथा श्रीगणेश संरक्षण समितिको पहलमा कार्यविधि परिमार्जन गर्ने तयारी गरिएको छ । राजतन्त्र हुँदा गणेश र भैरव छनोट गर्ने काम राजपुरोहितले गर्थे । राजतन्त्र हटेपछि नयाँ छनोटका लागि कार्यविधि परिमार्जनको तयारी गरिएको छ ।

पूर्वगणेश, भैरव, कुमारी घरका चिताइदार, शाक्य महाविहार, तलेजुका पुजारी, गुठी संस्थानका प्रतिनिधि र पञ्चबुद्धबाट प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ । उक्त समितिले नयाँ कार्यविधिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ । कार्यविधि पारित भएपछि गणेश र भैरव बन्नका लागि १८ महाविहारभित्रका जोसुकै शाक्य परिवारले आवेदन दिन सक्नेछन् ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू